‘पाठक कम छन् तर जिवनको आनन्द हुन्छ कवितामा’ : कृसु क्षेत्री
प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार
न्युयोर्कमा कार्यरत नेपाली वाणिज्यदूत साहित्यकार कृसु क्षेत्रीको नयाँ कविता संग्रह ‘चराको गीत’ प्रकाशित भएको छ । यो कविता संग्रह साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षेत्रीको नयाँ कवितासंग्रह बजारमा आएको हो । यस अगाडि २०६३ सालमा उहाँको ‘बोधिसत्वको मृत्युउत्सव’ कवितासंग्रह प्रकाशित भएको थियो । नयाँ कविता संग्रहको प्रकाशनपछि क्षेत्रीले खुशी व्यक्त गर्दै भन्नुभएको छ – ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे, हो रहेछ । २०६३ सालमा बोधिसत्वको मृत्युउत्सव कवितासंग्रहपछि बल्ल १२ वर्षमा मेरो नयाँ कवितासंग्रह चराको गीत प्रकाशन भएको छ ।’ यसै सेरोफेरोमा रहेर क्षेत्रीसँग गरिएको खसोखास सम्बाद ।
लामो समयपछि चराको गीत कविता संग्रह प्रकाशन गर्नु भएको छ । यसबारे बताईदिनुस् न ?
मेरो पहिलो रचना २०४३ सालमा प्रकाशित भएको थियो । अहिलेको किताबमा डाक्टर लक्ष्मी प्रसाद गौतमले उल्लेख गर्नु भएको छ । त्योबेला रुपरेखा साहित्यिक पत्रिकाले नेपालमा साहित्य क्षेत्रमा ठूलो आन्दोलन छेडेको थियो । संगसँगै समकालिन नेपाली साहित्यलाई जनताको माझमा पुर्याउन रुपरेखा पत्रिकाको ठूलो योगदान थियो । त्यसमा मेरो पहिलो रचना छापिएको थियो त्यसपछि नजानिदो ढंगले लेखक बनियो । मैले लेख्दै जाँदा नेपालका प्रतिष्ठित पुस्रकार पनि हात पारेको छु ।
२०६२÷०६३ को जनआन्दोलनको बेलामा एउटा कविता बोधिसत्वको मृत्युउत्सव प्रकाशन गरेँ । यो कविता संग्रह त्यो बेला निकै चर्चित भयो । केही कविताहरु विवादित भए र अलिबढी चर्चा पनि भयो । त्यसपछि दुई तीन कविता संग्रह संयुक्त रुपमा प्रकाशन गरियो । मैले आफ्नो एकल कविता संग्रह १२ वर्षपछि प्रकाशन गरे नयाँ चराको गीत । यसमा अलिबढी मेहनत र नयाँ सोच सहितका कविता रहेका छन् ।
तपाई सरकारी सेवामा पनि हुनुहुन्छ । हामीलाई यो भनि दिनुहोस्,कुटनीतिक क्षेत्रमा क्रियाशील हुँदा आनन्द आउँछ वा साहित्य क्षेत्रमा क्रियाशील हुँदा आनन्द आउँछ ?
दुईवटा डुंङ्गामा खुट्टा देखेको सबार यात्रु हुँ म । दुई वटा डुंङ्गामा एकै पटक हिँड्दा त्यो मानिस असफल हुन्छ । म दुबै क्षेत्रमा असफल छु । यसरी आफैले आफूलाई मुल्यांकन गर्दा यस्तो लाग्छ । नेपालमा एउटा चरणमा साहित्यिक क्षेत्रमा लेखेर चर्चा परिचर्चा मात्र होइन, उत्कृष्ट लेखनमा पुरस्कार पाएको थिए भने अर्को यता कुटनीतिक क्षेत्रमा निरन्तर रुपमा लागिरहेको छर । तपाईहरुसँगै काममा छु । म दुबै ठाउँमा आफु सन्तुष्ट छैन, तर ब्यतिगत रुपमा हेर्ने हो भने, म एउटा कुटनीतिक कर्मचारी भन्दा पनि आफुलाई सोकको रुपमा वा मेरो रहरको रुपमा मैले साहित्यिक व्यक्तित्वको रुपमा आफूलाई चिनाउँछु । धेरै जनाले मलाई कुटनीतिक कर्मचारी कृष्ण कुमार सुवेदी भन्दा सजिलै कृसु भन्दा मलाई त्यो मेरो साहित्यिक पहिचान र मेरो परिचय हो भन्ने लाग्छ । यतिसम्म कि मलाई सरकारी तोक लगाउनु पर्यो भन्ने चिठ्ठीमा आजसम्म पनि कृसु जि तोक लगाउनु पर्यो भन्ने आउँछ । यो मेरो साहित्यिक रचना र साहित्यिक व्यक्तित्वको कारणले, कुटनीतिक व्यक्तित्वलाई छाँयामा परेको हो कि भन्ने कहिले काँही लाग्छ ।
कविता र गीत त लेख्नु हुन्छ नै तर, पछिल्लो चरण म्युजिक भिडियोमा पनि देखिनु भयो । यो साहित्यिक यात्रामा आगाडि बढ्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
मलाई याद छ ,सानो हुँदा मेरो आमाले रामायण,महाभारत लगायतका किताबहरु निकै राम्रो शैलीमा बाचन गर्नु हुन्थ्यो । हामीलाई आमाले साहित्यिक लोहोरीहरु सुनाउनु हुन्थ्यो । त्यो एउटा प्रभाव हो । अर्को प्रत्यक्ष प्रभाव, म हुर्कंदै गर्दा नेपालका निकै चर्चित कवि दुबसु क्षेत्री मेरो आफ्नै घरमा हुनुहुथ्यो । त्यो बेला उहाँले राजाले पुरस्कार दिएर दाजुलाई सबैलै वाह् वाह् गरेको देखेर भित्रभित्रै इश्र्या लाग्दथ्यो, म पनि यही मान्छे जस्तो हुन पाएँ हुन्थ्यो भन्ने सोचको प्रभाव पनि पर्यो । दाजुका धेरै कविताका प्रभाव मेरो जिवनमा परेको छ । दाजुले लेख्ने कविताका शैलीहरुको प्रभाव छ । अर्को प्रभाव,मेरो दाजु कृष्ण धरावासीले मलाई पढाउनुहुन्थ्यो । उहाँ पनि एकदमै चर्चित साहित्यकार हुनुहुथ्यो । उहाँको पनि प्रभाव परेको हो । साहित्यमा आउनुको मुख्य भूमिका पारिवारिक वातावरण नै हो । म निकै लामो समय राजनीतिक कार्यकर्ताको रुपमा काम गर्दा गर्दै साहित्यमै फर्किए । राजनीति क्षेत्रको निकै लामो दुरी पारगरिसकेर फेरि साहित्यमा आइपुगेँ ।
साहित्यको क्षेत्रमा उपन्यास र कथाहरु अलिबढी बढिने विद्यामा पर्दछन । कविता अहिले पनि अलिकम बढिने विद्यामा पर्दछ । किन कम पढिने विद्या रोज्नु भयो ?
संसारमा सबैभन्दा बढी लेखिने बिद्या नै कविता हो । कवितामा जिवनलाई अभिब्यक्त गर्ने कला र शक्ति हो त्यो संसारको कुनै पनि बिद्यामा छैन् । चाहे उपन्यास हो, चाहे कथा होस् । म आफै उपन्यास र कथा लेखिरहेको छु । तर, कवितामा अभिव्यक्त गर्ने कौशल हुँन्छ नि, त्यसको गुण संसारमा कहाीँ छैन । तर तपाईले भने जस्तै सबैभन्दा बढी लेखिन्छ, बढ्दा कम पढ्न्छि । किन भने पाठकले कविता बुझ्दैनन् । मलाई इश्वर बल्लबको एउटा भनाई याद आयो, उहाँसँग कुरा गर्दा, दाई तपाईको कविता बुझ्दैनन् भन्छन् नि भन्दा उहाँले भन्नुहुन्थ्यो,“कृसु जि संसारमा सबैभन्दा काम लाग्ने बजेट भाषण हो । भाषण गर्दागर्दै, खाने, लगाउने सबै कुराको मल्यू बढेको हुन्छ । तर त्यो कुरा त कसैले बुझ्नैन कविता के बुझ्दथ्ये ।” कविता हृदयले लेखिने मात्र होइन, मस्तिष्कले लेखिने कुरा हो । त्यो भएर पाठकको संख्या कम छ । साझाले मेरो नयाँ किताव प्रकाशन गर्यो चराको गीत । यो ११ सयदेखि २ हजार प्रतिमात्र निस्कने हो । यहि कुरा मैले उपन्यासको रुपमा कुनै प्राइभेट कम्पनीलाई दिएको भएन पाँच ÷छ, हजार प्रकाशन गर्दथ्यो । त्यो विक्रि पनि हुन्थ्यो । बजारमा सबैले वाह् वाह् गर्दथे । कबिता पढ्ने पाठकको संख्या कम छ तर, तपाईले जिवनमा पाउने आनन्द, सृजनालाई अभिव्यक्त गर्ने कौशलता र गुणबेतको आधारमा गरिने पक्ष हो त्यो कविता मै हुन्छ ।
तपाईको साहित्यिक यात्राको आगामी योजना के छ ?
साँच्चै भन्ने हो भने लामो गर्भाधान पछि सन्तान प्राप्त गरेको छु । सन्तानसँगको खुशी, त्यसको रोदन, दुःख पीडाहरुलाई नजिकबाट हेरेर भित्रै मनदेखि आल्हादित भैरहेको अवस्थामा छु । तुरुनै केही छैन, तर केही आख्यान तर्फका कृतिमा अग्रसर हुँदैछु । मैले गद्यहरु लेख्दा सहज ढंगका लेख्दैन होला जस्तो लाग्छ, यसमा पनि कविताको छनक आउँछ, किन म कवि हुँ । अब एक दुई बर्ष गद्यमै लाग्ने कि ? हेरौँ समयले कता पुर्याउँछ ।
तस्विर : विनोद अधिकारी