आफूलाई भगवानको अवतार मान्छन् यी तीन बच्चा
प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार
चैत २०, —काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित शिमलाको बलग गाउँमा तीन बच्चाले आफूलाई भगवान् शिव, काली माता र विष्णुको अवतार घोषणा गरेका छन् ।
एउटा झुप्रोमा यी बच्चाहरूको कथित प्रवचनको भिडियो भाइरल भएपछि यिनलाई दर्शन गर्न आउनेको ताँती लागेको छ ।
अहिले त्यहाँ हिमाचल, पञ्जाब र हरियाणाबाट गाडीका गाडी मानिस पुगिरहेका छन् । क्यान्सर, मधुमेह र रक्तचापका बिरामीहरूले ग्रस्त मानिसहरूले यी बच्चाले भनेको आधारमा औषधि खान छोडेका छन् ।
भीड धेर भएर सम्हाल्नका लागि प्रहरी तैनाथ गरिएको छ । चिकित्सकहरूले यी बच्चाहरू हिस्टेरियाबाट ग्रस्त भएको बताएका छन् । अनि बच्चाहरूलाई भीडबाट टाढा राख्ने सल्लाह पनि दिएका छन् ।
बच्चाहरूले आफूलाई भगवानको अवतार घोषणा गरेपछि अन्धविश्वासी मानिसले उनीहरूलाई उपचार गर्नुको साटो पूज ागर्न थालेका छन् । मनोवैज्ञानिक, समाजशास्त्री र चिकित्सकहरूले यसलाई अन्धविश्वास मानेका छन् ।
आईजीएमसी शिमलाका मनोचिकित्सा विज्ञानका प्रमुख चिकित्सक डा रविचन्द्र शर्माले यो अन्धविश्वास भएको बताएका छन् । ‘यो बच्चाहरूको मनोविकार हो । यस्ता मानिसले अचेतनमा कुण्ठाको समाधान खोज्ने प्रयास गर्छन् ।
उनीहरूले जानीबुझीकन यसो गर्दैनन् । अचेतन मनले उनीहरूलाई यसो गराउँछ । उनीहरूलाई जति धेरै मानिसले भेट्छन्, अन्धविश्वास त्यति नै बढ्दै जान्छ ।’
एजेन्सी