विरोध प्रदर्शन गर्न सरकारले तोक्यो यी ६ ठाउँ, माइतीघर मण्डलामा प्रतिबन्ध
प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार
काठमाण्डुको माइतीघर मण्डलामा अबदेखि विरोध प्रदर्शन गर्न नपाइने भएको छ ।
सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो बनेको थियो यो ठाउँमा सरकारले विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जिल्लाका ६ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो ।
वैशाख १६ गतेदेखि काठमाण्डुको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ ।
‘मिति २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।