भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?
प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार
भूकम्पको तीन वर्ष बितिसक्दा पीडितको घर मात्रै होइन, सम्पदा बनाउने काम पनि अलपत्र छ । धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका ऐतिहासिक सम्पदाको हालत उस्तै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरी पुनर्निर्माणको काम अहिले रोकिएको छ । आधुनिक शैलीमा बनाउन खोजिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको हो । झण्डै ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको काम आउँदो जेठदेखि फेरि सुरु गर्ने तयारी छ । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासिन्दाको माग र दबाबपछि तीन महिनादेखि रानीपोखरी पुनर्निर्माणको काम रोकिएको थियो ।
अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको रातो मच्छिन्द्रनाथ मन्दिर पनि बनिसकेको छैन । उबेला २ वर्षमै सक्ने गरी काम सुरु भएको थियो । तर कहिले सामग्री अभाव त कहिले स्थानीयकै विरोधले काम रोकिने अनि सुरु हुने गरेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले ०७२ साल माघ २ गते एकसाथ शिलान्यास गरेका सम्पदाको अवस्था त यस्तो छ भने अरु सम्पदा कुन अवस्थामा होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । धरहरा र काष्ठमण्डप पनि कहिले बनिसक्ने हुन् ठेगान छैन ।
रानीपोखरी बनाउन यो बीचमा झण्डै तीन करोड रुपैयाँ खर्च भएको छ । अब जेठबाट फेरि सुरु हुँदा अहिले सम्मको खर्च बालुवामा पानी खन्याए सरह नै हुने भएको छ ।
भूकम्पले ७ सय ५३ सम्पदामा क्षति गरेको थियो । ०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसको दिन पारेर पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण औपचारिक रुपमा थालनी गरिएको हो । तर यसबीचमा बनिसकेका सम्पदाको संख्या ९० पनि पुग्न सकेका छैनन् । महत्वपूर्ण साँस्कृतिक सम्पदा अझै पनि अलपत्र अवस्थामै छन् ।
भूकम्पले नढलेका तर जीर्ण बनेका कतिपय सम्पदाको टेको पनि अझै हट्न सकेको छैन । सरकारी कार्ययोजनामा यी सबै सम्पदा ५ वर्षभित्रै सक्ने प्रतिबद्धता छ । तर पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्ने लक्ष्य भने कागजमै सीमित हुने अवस्था देखिएको छ । किनभने महत्वपूर्ण सम्पदा विवाद र अलमलमै रुमल्लिएका छन् । सबैभन्दा बढि विवाद धरहरा, रानीपोखरी र काष्ठमण्डपमा छ ।
काठमाडौं उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा भूकम्पले क्षति गरेको हो । भूकम्पले काठमाडौंमा २ सय ५०, ललितपुरमा १ सय ३० र भक्तपुरमा ८० गरी ४ सय ६० सांस्कृतिक सम्पदा भत्किएका थिए । विश्व सम्पदा सूचीमा सूचीकृतमध्येका १ सय ४० सम्पदा क्षतिग्रस्त रहेकोमा अहिलेसम्म ३१ वटा सम्पदाको मात्रै पुनर्निर्माणको काम सकिएको छ । भक्तपुर दरबारमा ६, चाँगुनारायणमा २, हनुमानढोका दरबारमा ११, स्वयम्भूमा ६, पाटनमा ४, बौद्धनाथमा १, पशुपतिमा १ गरी ३१ सम्पदा सकिएका हुन्
विश्व सम्पदा बाहेकका ४८ सम्पदाको पुनर्निर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । विश्व सम्पदा सूची बाहेक काठमाडौंका १७, ललितपुरका ३, भक्तपुरको १, दोलखा र गोरखाको ७÷७ वटा सम्पदा पुनर्निर्माण कार्य सकिएको छ । यस्तै काभ्रेको ६, रामेछापको ३, धादिङको २, नुवाकोटको १ र ओखलढुंगाको १ वटा सम्पदा पुनर्निर्माण काम पनि सकिएको छ । अहिले झण्डै ३ सय सम्पदाको पुनर्निर्माण भैरहेको पुरातत्व विभागले जनाएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार विवाद रहेका सम्पदालाई पनि बनाउन पहल भैरहेको छ ।
रानीपोखरीजस्तै विवादमा परेको सम्पदा धरहरा पनि हो । भूकम्पले ढलेको धरहरा नागरिककै सहयोगबाट पुनर्निर्माण गर्ने उदेश्य सहित म बनाउँछु अभियान थालिएको थियो । धरहरा पुनर्निर्माण कोषमा झण्डै ९ करोड रुपैयाँ संकलन पनि भएको छ । तर २०७३ साल पुस २९ गते मन्त्रीपरिषद्को निर्णयले धरहराको निर्माण जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय भएको थियो ।
तर धरहराको डिजाइनका विषयमा कुरा नमिल्दा टेलिकम पछि हट्यो भने धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको छ । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै धरहरा पुनर्निर्माण हुने बताउनुभएको थियो । अहिले ओली दोस्रो पटक प्रधानमन्त्री हुनुभएको छ । पहिलो पटक सत्तामा छँदा ओलीले थालेको अभियान भने अलपत्र अवस्थामा छ । ढलेको तीन वर्ष वित्दा पनि धरहरा उठ्न सकेन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल धरहरा निर्माण कार्यले अब छिट्टै गति लिने बताउनुहुन्छ ।
अर्को कामै सुरु हुन नसकेको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पनि हो । जेठ १५ गतेदेखि काष्ठमण्डप पुनर्निर्माणको काम सुरु गर्ने तयारी छ ।
धरहरा, काष्ठमण्डप र रानीपोखरी जस्ता सम्पदामा काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र स्थानीयबासिन्दाको विवादले काम हुन नसकेको हो ।