पैसाको अभावमा संसार नदेखी फर्कनु पर्दैन मोतियाविन्दुका बिरामी


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो ।

सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार भयो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा निःशुल्क उपचार गरेपछि उहाँले आँखा देख्न थाल्नुभयो । अहिले पुरानै पेशा माछा मारेर आफ्नो गुजारा गर्दै हुनुहुन्छ माझी ।

सल्यानटारको नर्सिङधाम आँखा उपचार केन्द्रका नेत्र सहायक रामबाबु कँडेल भन्नुहुन्छ, “दुई दिनअघि भेट भएको थियो, उहाँ मजाले माछा मार्दै हुनुहुन्छ ।” पुरानै पेशामा फर्किएको देख्दा खुशी भएको उहाँ बताउनुहुन्छ ।

चैतको २० गते चितवनको पदमपुरमा आँखा शिविर हुँदा धेरै वृद्धवृद्धामा मोतियाविन्दु देखियो । पूर्वी चितवनको पदमपुरकी ५२ वर्षीया चित्रकुमारी चौधरी, ६५ वर्षीया खुंकी थरुनी, रुपमायाँ तिमिल्सिना, ६२ वर्षीया फगुना महत्तो, ६५ वर्षीया न्याउरी महत्तो, ६८ वर्षीया राती महत्तोलगायत नौ जनाको पनि भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी आँखा देखाएर पठायो ।

“असहाय र गरीबलाई हामी खोजीखोजी ल्याउँछौँ र उपचार गर्छाैं”, नेपाल नेत्रज्योति संघका सदस्य केशव अधिकारीले भन्नुभयो, “कहीँ कतै फेला परे ल्याइदिए हुन्छ, उहाँहरुलाई आँखा देखाएर पठाउँछौँ ।”

गएको चैत महिनामा पनि चितवनको देवघाटमा बस्ने १२ जना वृद्धवृद्धाको उपचार भयो । उनीहरुको आधा रकम नेत्रज्योति संघ चितवनका कार्यवाहक सभापति कृष्णराज धरेलले सहयोग गर्नुभयो । आधा रकम भने अस्पतालले सहयोग गरेर उनीहरु आँखा देख्ने भएर फर्किए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com