दुई कोरियाबीचको एेतिहासिक सहमतिपछि अमेरिका, चीन र नेटाेकाे यस्ताे रह्याे प्रतिक्रिया
प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार
उत्तर र दक्षिण कोरियाबीचको शुक्रबार सम्पन्न ऐतिहासिक शिखर बैठकमा दुई देशका नेताहरूले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्नका निम्ति मिलेर काम गर्न महत्वपूर्ण सहमति गरे । यस अनपेक्षित सहमतिलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा स्वागत गरेको छ।
दुर्इ काेरियाबीचकाे सहमतिप्रति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सकारात्मक टिप्पणी गरेका छन् । उनले सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा बस्न पाउने दिन आउनेमा आफू आशावादी रहेको बताएका छन्।
ट्रम्पले भनेका छन्, ‘मलाई विश्वास छ एउटा यस्तो दिन आउनेछ, जब सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा एकसाथ बस्न पाउनेछन् ।’ तर उनले दुई कोरियाबीचको शुक्रबारको शिखर बैठक सफल भए पनि आफूले उत्तर कोरियामाथि अधिकतम दबाव जारी नै राख्ने बताउन भने छाेडेनन् ।
उत्तर कोरियाली नेता किम जङ उनसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको पनि ट्रम्पले बताए।
यसैबीच, उत्तर कोरियाको प्रमुख साझेदार चीनले दुई कोरियाबीचको मतभेद सुल्झाउनका निम्ति सहयोग जारी राख्न बेइजिङ तयार रहेकाे जनाएकाे छ । त्यस्तै, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का महासचिव येन्स स्टोलटनबेर्गले भने अझै धेरै काम गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्।
यसअघि शुक्रवार किम र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए । यद्यपि धेरै विश्लेषकहरू प्योङयाङको सक्रियतालाई लिएर सशंकित छन्