ओझलमा रुन्टी गाउँ, जुन स्वर्गद्धारी महाप्रभुको जन्मस्थल हो
प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार
पर्यटनको प्रयाप्त सम्भावना हुँदाहुँदै प्रचारप्रसारको अभावमा कतिपय ठाउँले लाभ लिन सकिरहेका छैनन् । त्यस्तै मध्येको एक हो, रुन्टी गाउँ ।
रोल्पाको रुन्टी गाउँ त्यही ठाउँ हो, जहाँ स्वर्गद्वारी महाप्रभु बालतपस्वि नारायण गौतमले जन्म लिएको र तपस्या गरेका थिए तर, अझैसम्म ओझेलमा छ ।
होलेरीदेखि १७ किलोमिटर उत्तरमा पर्ने साबिकको सखी गाविसको वडा नम्बर ९ मा पर्ने यो ठाउँ अहिले रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ९ मा पर्छ । रुन्टी गाउँमा महाप्रभुको पुख्र्याैली तीनवटा घर छन् । गाउँभरमा १५ घरधुरी छन् । महाप्रभुका बाँकी परिवार भने दाङमा बसाइस गरिसकेका छन् ।
महाप्रभुको जन्मथलो रुन्टीमा दैनिक एक अध्याय रुद्री साथै पूजापाठ गर्ने गरिएको छ । यसका लागि स्वर्गद्वारी आश्रमले एक जना पूजारी खटाएको छ । विवाह, रुद्री, ब्रतबन्ध गर्न छिमेकी गाउँका मानिसहरु पनि रुन्टी आउने गरेका छन् ।
तर, पर्यटन प्रवर्द्धनका लागि केही भएको छैन । पूजारी कृष्णप्रसाद भट्टराइले प्रचारप्रचारको अभावमा स्वर्गद्धारीमा जस्तो भक्तजन नआएको हुनसक्ने बताउँछन् ।
महाप्रभुको जन्म दिन श्रावण एकादशीमा २४ घण्टै अखण्ड क्रितनभजन गर्ने गरिएको छ । महाप्रभुको जन्म स्थानमा मन्दिर निर्माण गरी प्रतिभा राखिएको छ । महाप्रभुले प्रयोग गरेको खराउ एक जोर सुरक्षित राखिएको छ ।
महाप्रभुको जन्म वि.स. १९१६ साल श्रावन शुक्ल एकादशीको दिन भएको हो । बुवा अनिरुद्र गौतम र आमा स्वेता खत्रीको जेठो छोराको रुपमा जन्मिएका महाप्रभुको ३६ बर्षको उमेर रुन्टीगाउँमै बितेको थियो । महाप्रभुले गाउँ नजिकैको गुफामा ध्यान गरेका थिए, जुन अहिले पनि संरक्षित नै छ ।
झन्डै ३५ बर्ष रुन्टीमा बिताएर उनी शान्त स्थान खोजी गर्दै स्वर्गद्वारीमा गएको इतिहासमा उल्लेख छ । महाप्रभुले ३५ बर्षपछि आश्रम लिएको स्थान चर्चित भएपनि जन्मेहुर्केको र आधा जीवन बिताएको रुन्टी गाउँको पर्यटन विकासमा अहिलेसम्म कुनै प्रयास नहुनु दुःखद भएको स्थानीयको दुखेको छ ।
वडाअध्यक्ष नेपबहादुर थापाले केन्द्रीयस्तरबाट हुनुपर्ने जति पहल नभएको दुखेसो गर्नुहुन्छ । रुन्टीको विकासका लागि गुरुयोजना बनाएर केन्द्र र प्रदेश सरकारबाटै पहल गर्नुपर्ने स्थानीयको माग छ ।