चीन पठाउने गैँडाको केटोलाई ‘पिट बोमा’मा राखियो


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

नारायण ढुंगाना
चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर)मा ल्याएर राखिएको छ ।

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो)लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको हो । केटोलाई काठको खोरमा राखेर पिकअप भ्यानबाट सौराहा ल्याइएको थियो । गैडामात्रै अट्ने निश्चित आकारको खाल्डोमा चारैपट्टि काठैकाठले घेरेर बनाइएको खोर नै पिट बोमा हो ।

निकुञ्जको टोलीले पोथी नियन्त्रणको प्रयास हुँदाहुँदै अन्दाजी दुई वर्षको भाले केटो नियन्त्रणमा लिएको थियो । केटोलाई बोमामा राख्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभियान पाठक र चीनको चिमे लङ सफारीका सह­प्रबन्धक याङ सहभागी हुनुहुन्थ्यो ।

गैँडाको आनीबानी, अवस्था र नियन्त्रण प्रक्रिया बुझ्न याङ वैशाख ६ गतेदेखि नै चितवन निकुञ्जमा हुनुहुन्छ । एक महिना जति पिट बोमामा राखेर खानेकुरा दिई बानी पारेपछि पुनः अर्काे ठूलो बोमामा राखिने कोषका प्रमुख अर्यालले जानकारी दिनुभयो । दुई जोडी गैँडा राख्नका लागि दुई वटा पिट बोमा र दुई वटा ठूलो बोमा तयार भएको छ ।

अर्काे एउटा पनि पिट बोमा बनाउने तयारी छ । चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभियन पाठक दोस्रो बोमामा सारेपछि पनि केही समय राखिने र आगामी असारभित्र गैँडा चीन पठाउने तयारी भइरहेको बताउनुभयो ।

यही वैशाख ६ गतेदेखि चिनियाँ प्रतिनिधिसहितको टोलीले गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु गरेको थियो । गैँडा नियन्त्रणमा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसहित ५० जना खटिएका छन् ।

सोका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । निकुञ्जबाट एक भालेसहित दुई पोथी नियन्त्रणमा लिएपछि सौराहामा रहेको एउटा भाले केटोसहित चार वटा गैँडा चीन पठाइने छ । गैँडा नियन्त्रण टोली भने अर्काे समाउन निकुञ्जमै रहेको छ ।रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com