सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी, सरकारले चासो नदेखाएको संघीय फोरमको गुनासो
प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार
राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थिति बनाएको छ । आफूहरुलाई वेवास्ता गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था आएको राजपाले जनाएको छ ।
संविधान संशोधन, मुद्दा फिर्ता लगायतका आफ्ना मागमा सरकार गम्भीर बनेको राजपाको आरोप रहेको छ । राजनीतिक समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नबारे निर्णय गर्ने राजपाका सहमहामन्त्री सुरेन्द्र झाले जानकारी दिनुभयो ।
राजपाकै महामन्त्री मनिष सुमनले पनि १० दिनभित्र नै समर्थन फिर्ता लिइने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन २७ गते राजपाका १७ प्रतिनिधिसभा सांसदले विश्वासको मत दिएका थिए । सरकारले भने मधेसवादी दलहरुसँग निरन्तर संवाद भएको भन्दै वार्ता नटुटेको बताएको छ ।
उता संघीय समाजवादी फोरमले पनि सरकार आफ्ना मागप्रति गैरजिम्मेवार बनेको आरोप लगाएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागिता निश्चित नभएको बताउनुभयो । उहाँले सरकारले ठोस सहमतिका लागि चासो नदेखाएको आरोप समेत लगाउनुभयो ।
सरकारले मधेसवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी गरेको धेरै समय भइसक्यो । तर, यसले मूर्त रुप पाउन सकेको छैन ।