३३ किलो सुन काण्ड – एसएसपी लोहनीमाथि पनि छानबिन सुरु


प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार

काठमाडौंँ । ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटनामा नेपाल प्रहरीका अर्का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनीमाथि पनि अनुसन्धान सुरु हुनुले घटना झन रहस्यमय बन्दै गएको छ ।

नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु समेतको एक पछि अर्को श्रृङ्खलाबद्ध संलग्नता खुल्दै जानुले तस्करीको कनेक्सन लामो संजालमा फैलिएको प्रष्ट भएको छ ।

यस सम्वन्धमा बयान लिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङले मङ्गलबार लोहनीलाई काठमाडौंँबाट मोरङमा झिकाएर बयान लिएको हो । त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले विदेशबाट ल्याएको ३३ किलो सुन फागुनमा ‘गायब’ भएको थियो ।

सुन फागुनमा ‘गायब भएपछि गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो। हत्यापछि धरान हुँदै फागुन १९ गते विराटनगर आएको तस्कर समूहका टेकराज मल्ल ठकुरीले कुदाएको स्करपियोबाट शाक्यको शव फेला परेको थियो ।

लोहनीसहित महाशाखाका प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि शाक्यको हत्या ढाकछोप गरेको आरोप लगाइएको छ । सुन तस्करी, हत्या र यसमा प्रहरीको संलग्नताका विषयमा सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

त्यसै गरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध पनि सङ्गठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com