संसद्को दोस्रो अधिवेशनको कार्यसूची तय, बजेटदेखि कानुन बनाउनेसम्म यस्तो छ तालिका
प्रकाशित मिति : बैशाख २०, २०७५ बिहीबार
काठमाडाैं । संघीय संसद्को दोस्रो अधिवेशनको सम्भावित कार्यसूची तय भएको छ । यही वैशाख २३ गतेबाट सुरु हुन लागेकाे दोस्रो अधिवेशनमा प्री–बजेटमाथिको छलफलदेखि आगामी वर्षको बजेट पारित गर्दै संविधान कार्यान्वयनका लागि आवश्यक ऐन-कानुन निर्माण गर्नेसम्मकाे कार्यतालिका समावेश गरिएकाे छ ।
संसद्को दोस्रो अधिवेशन आगामी आइतबार अपराह्न ४ बजे सुरु हुनेछ । पहिलो बैठकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली दिने र सरकारले पहिलो अधिवेशन सकिएपछि ल्याएका अध्यादेश प्रस्तुत गर्ने कार्यसूची राखिएको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
यस्ताे छ कार्यतालिका
संसद् बैठक सञ्चालनका लागि २४ गते संसदकाे नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुनेछ । पेस भएको प्रतिवेदनमाथि सोही दिनबाटै छलफल सुरु हुने र छलफल, संशोधन प्रस्ताव राखेर पारित गर्ने कार्यतालिका छ । २७ गतेसम्म नियमावली पारित गरिसक्ने जनाइएकाे छ ।
त्यसपछि सुरू बैठक आइतबारै प्रस्तुत हुने अध्यादेशहरू स्वीकृत गर्ने कार्यसूची राखिएको छ । २६ वैशाखबाट प्री–बजेट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू अर्थमन्त्री डा. युवराज खतिवडाले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्तका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, १ जेठमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।
नीति तथा कार्यक्रममाथि सोही अवधिमा छलफल गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै १५ जेठमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रस्तुत बजेटमाथि १७ जेठबाट आगामी वर्षको राजस्व र व्ययको वार्षिक बजेटमाथि सैद्धान्तिक छलफल चल्नेछ, याे एक सातासम्मै लम्बिने जनाइएकाे छ ।