नासाले मंगल ग्रहका कम्पनबारे अध्ययन गर्ने


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

अमेरिकी अन्तरिक्ष निकाय(नासा)ले मंगल ग्रहमा उसको पछिल्लो यान प्रक्षेपण गरेको छ।

‘इनसाईट’ नामक सो यान मुख्यतः मंगल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने पहिलो यान हुनेछ।

स्थिर रहने ‘इनसाईट’ले मंगलग्रहको सतहमा “मार्सक्वेक” अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण-‘साईज्मोमिटर’हरूका साथै यूकेबाट लगिएका सेन्सरहरू जडान गर्नेछ।

ती कम्पनहरूले जमिनमुनि रहेको चट्टान कसरी पत्र-पत्रमा बनेको छ भन्ने खुलासा गर्नुपर्नेछ र त्यो तथ्याङ्क साढे ४ अर्ब वर्षअघि ग्रहहरू कसरी बने भन्ने विषयमा थप उजागर गर्नेछ।

‘इनसाईट’का प्रमुख अनुसन्धानकर्ता डा. ब्रुस ब्यानर्टले भने, “कम्पनयुक्त तरङ्गहरू मंगल ग्रह हुँदै अघि बढ्दा तिनले सूचना लिनेछन्। र साईज्मोग्राममा देखिने ती सबै तरंगहरूबाट विवरण कसरी निकाल्ने भनेर वैज्ञानिकहरूले बुझ्नेछन्। सबै दिशाहरूबाट “मार्सक्वेकहरू” लिएपछि हामीले मंगलग्रहभित्रको थ्री-डी दृश्य सँगै राख्न सक्नेछौँ।”

मंगल ग्रहको खाल्डोको नाम लाङटाङ

प्रक्षेपण
क्यालिफोर्नियास्थित भ्यानडनबर्ग हवाई फौज अखडाबाट स्थानीय समयअनुसार शनिवार बिहान ४ बजेर ५ मिनेटमा एटलास रकेट प्रक्षेपण भएको हो।

सन् १९७० को दशकताका पछिल्लोपटक नासाले भाइकिङ ल्यान्डर्समार्फत् मंगल ग्रहमा कम्पन मापन गर्ने उपकरण-साईज्मोमिटरहरू पठाएको थियो। तर ती प्रयास सतहका कम्पनहरू पत्ता लगाउन असफल रहे किनकि अनुसन्धान गर्ने यानहरूको बीचमा उपकरणहरू जडान गरिएका थिए।

ती उपकरणहरूले हावा चल्दा भएको यानहरूको हल्लाइ मात्रै रेकर्ड गरेका थिए। त्योभन्दा भिन्न ‘इनसाईट’ले मंगलग्रहको सतहमा रहेको माटोमा सिधै ‘साईज्मोमिटर’हरू जडान गर्नेछ।

एक वर्षमा कति धेरै कम्पनहरू पत्ता लाग्नेछ भनेर अनिश्चित नै छ तर आकलन गरिएअनुसार केही दर्जन हुनसक्ने संकेतहरू छन्।

ती कम्पनहरू साना हुनसक्छन् सम्भवतः तीन म्याग्निट्युडभन्दा पनि कम हुन सक्छ।

पृथ्वीमा त्यतिको कम्पन हुँदा मानिसहरूले महसुस नै गर्दैनन्।

यद्यपि ती हलुका कम्पनहरूले सतहमुनिको भागबारे पर्याप्त विवरण दिनेछन् जसले मंगल ग्रहको गहिराइ तथा बनावटको नमुना बनाउन वैज्ञानिकहरूलाई सहज हुनेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com