भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोआगमन स्वागतमा जनकपुरको काँचुली नै फेरियो ।
प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार
धनुषा। जे थियो जनकपुर त्यो रहेन अब , जनकपुरको काँचुली नै फेरिए झै भएको छ भने दुलही झै सिंगारिन थालिएको छ । छिमेकी मुलुकको विशिष्ठ अतिथिको आगमनको स्वागतमा जनकपुरको जोश नै बेग्लै भएको छ यतिखेर ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण नजिकिदैं गर्दा स्वागत तथा अभिनन्दन तयारी तीब्र पारिएको छ । मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ सजाउने कार्य कार्य भइरहेको छ ।
संघीय सरकार तथा प्रदेश र स्थानीय सरकारले जानकी मन्दिरदेखि बाह्र विघा रंगभूमि मैदानसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा गरिरहेको छ ।
वर्षाले बाह्रबिघा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ । मोदीको स्वाग्त पण्डाल समेत भारतबाट ल्याएर तयारी थालिएको हो । निकै कम समय रहेकाले तयारीमा समस्या आएको प्रदेश सांसद रामअशिष यादव बताउनु हुन्छ ।
यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ । सडक निर्माण तथा मर्मत सम्भार समेत द्रुत गतिमा बढाईएको छ । नाला सरसफाई समेत अगाडि बढाईएको जनकपुर उपमहानगरपालिकाले जनाएको छ ।
मुुख्यमन्त्री लालबाबु राउतका अनुसार टोलीले बाह्रबिघामा हेलिकप्टर अवतरणमा समस्या आउनसक्ने भएकाले हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरणको सुझाव दिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदी जनकपुर आए लगतै सबैभन्दा पहिला दर्शन र पूजा आर्चनाका लागि जानकी मन्दिर पुग्नु हुनेछ । मन्दिरमा मोदीले ३० देखि ४५ मिनेटसम्म विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।
टोलीले आज बाह्रबिघाको विभिन्न स्थलमा परीक्षण गर्दा धुलोमय भएका कारण जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरणको सुझाव दिएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदी पटनाबाट वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सीधै जनकपुर आउने कार्यक्रम छ ।