नाकाबन्दी लगाउनेलाई ‘नागरिक अभिनन्दन’ भन्दै सरकारको चर्को आलोचना


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनको औचित्य पुष्टि गर्न सरकारलाई दवाव, नाकाबन्दीको बदलामा ‘पुरस्कृत’ गर्न खोजिएको भन्दै जनस्तरबाट चर्को विरोध
काठमाडौं । ‘अतिथी देवो भवः’ अर्थात् पाहुना भगवान सरह हुन्छन् । यो नेपाली संस्कृतिको अभिन्न पाटो हो । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत र नेपाल बसाई अविश्मरणीय बनाउने प्रयास भइरहेको छ । मोदीको तीर्थाटन नेपाल–भारतको सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी हुने विश्वास गरिए पनि ‘नागरिक अभिनन्दन’को भने आलोचना भइरहेको छ ।

संविधान जारी भएसँगै मधेस केन्द्रित दलहरुले गरेको सीमा नाका केन्द्रित आन्दोलनमै टेकेर भारतले नेपालमाथि नाकाबन्दी लगायो । ६ महिना लामो नाकाबन्दीका कारण चरम अभावमा गुज्रिदा नेपालीमा भारत विरोधी भावना निकै बढ्यो । सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिले विधिपूर्वक जारी गरेको संबिधानलाई स्वागत नगरेको भारतले आफुले लगाएको नाकाबन्दी प्रति दुःखसमेत व्यक्त गरेको छैन ।

प्रधानमन्त्रीकै रुपमा भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रवादी’को पहिचान बनाए । र, त्यही पहिचानले उनलाई दोस्रो पटक सत्ता नेतृत्वमा पु¥यायो । तर, ओली नेतृत्वको सरकारकै निर्देशनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बैशाख २८ गते जनकपुर उप–महानगरपालिका र २९ गते काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छन् । पाहुनाको स्वागत, सत्कारमा कुनै कमी हुन नदिने प्रयास सकारात्मक भए पनि नाकाबन्दी लगाएका मोदीलाई नागरिक अभिनन्दन नै गर्नुलाई जनस्तरले रुचाइएको छैन ।

नेपालको संविधान अनुसार परराष्ट्र मामिला सम्बन्धी नीति तथा कार्यक्रममा संघीय सरकारकै नियन्त्रणमा रहन्छ । स्थानीय तहलाई परराष्ट्र मामिलाका सन्दर्भमा संघीय सरकारले नै निर्देशन दिन्छ । सोही अनुरुप संघीय सरकारको निर्देशनमा जनकपुर उप–महानगरपालिका र काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्न लागेका हुन् । यसैलाई आधार मानेर प्रधानमन्त्री ओलीको ‘राष्ट्रवाद’ लम्पसारवादमा परिणत भएको टिप्पणी समेत भइरहेको छ । तर, मोदीको अभिनन्दनप्रति मधेसको मत अलि भिन्न छ । जो मधेस आन्दोलन र नाकाबन्दीसँग मिसाएर राष्ट्रिय प्रतिष्ठासँग जोडिएको मोदीको नागरिक अभिनन्दनलाई विवादित बनाउन नहुने तर्क गर्छ ।

पाहुनाको स्वागत गर्ने संस्कारका धनी नेपालीबाट मोदीको अभिनन्दनको विरोध भएका प्रति संघीय सरकारले मुख खोलेको छैन । तर, ‘राष्ट्रवाद’को आडमा सत्ता हत्याएका ओली नेतृत्वकै सरकारले मोदीलाई नाकाबन्दीको ‘पुरस्कार’ दिन खाजेको टिप्पणी राजनीतिक नेतृत्व, प्रबुद्ध व्यक्ति र सर्वसाधारणले गरिरहेका छन् । सामाजिक सञ्जालमा त विरोधको जेहाद नै छेडिएको छ ।

छिमेकी देशका प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु राम्रो हो । दुई छिमेकी मुलुक संधै तिक्तताको सम्बन्धमा रहनु पनि हुन्न । तर, सम्बन्ध सुधारका लागि भन्दै गर्न लागिएको धार्मिक भ्रमणमा राज्यस्तरबाटै गर्न लागिएको नागरिक अभिनन्दले दिने र लिने दुवैलाई विवादमा तानेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com