विख्यात वैज्ञानिकले हाँसी–हाँसी त्यागे जीवन


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन् । लण्डनमा जन्मिएका र अष्ट्रेलियामा बसेका गुडअल बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक थिए ।

इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न सहयोग गरेको थियो ।

एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिएका छन् । उनले भने, ‘स्विटजरल्याण्डको बेसलस्थित लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तिपूर्ण निधन १०ः३० मा भयो ।’

गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खाएका थिए । उनले विथोवनको ‘ओड टु जोई’ संगीत सुनेका थिए ।

आफ्नो जिन्दगी अन्त्यका लागि उनले ३ मेमा अष्ट्रेलियास्थित घर छाडेर स्विटजरल्याण्ड गएका थिए । उनमा कुनै गम्भीर प्रकारको रोग थिएन तर उनले जीवनको सम्मानजनक अन्त्य चाहन्छु भन्थे ।
उनी भन्दथे, ‘मेरो स्वतन्त्रता खोसिँदैछ त्यसैले स्वेच्छिक मृत्युवरण रोजें ।’

आफ्ना परिवारका सदस्यहरुबाट घेरिएका गुडअलले अन्तिम श्वास लिनुअघि भने, ‘म आफ्नो जीवनको अन्त्यबाट खुसी छु । विगत करिब एक वर्षदेखि मेरो जीवन राम्रो थिएन । म यसलाई अन्त्य गर्न पाउँदा निकै खुसी छु ।’

वैज्ञानिक डा. गुडअलले स्वेच्छिक मृत्युवरण रोजेपछि यसले विश्वव्यापी चर्चा पाएको थियो । त्यसैले गुडलले भनेका थिए, ‘मेरो मृत्युको चर्चाले वृद्धवृद्धाको इच्छा मृत्युको अधिकारको मागलाई बल मिल्ने छ । म पनि यही चाहान्छु ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com