अाेली-माेदी सम्बन्ध नयाँ चरणमा? उस्तै पहिरनमा ओली–मोदी
प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रबार बिहान जनकपुर ओर्लिए।
दुई पटक प्रधानमन्त्री भए पनि ओली जनकपुर गएका थिएनन्। त्यसैले प्रधानमन्त्रीको रुपमा यो नै उनको पहिलो जनकपुरयात्रा हो।
केही महिना अघिसम्म मधेसवादी दलहरुले मधेसविरोधी नेताको ट्याग लगाउँदै ओलीविरुद्ध अभियानै सञ्चालन गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीको जानकी मन्दिर दर्शन प्रकरण होस् वा मलेठ घटना दुवैमा मधेशवादी दलले लोकतन्त्रका मूल्यमान्यताको धज्जी उडाउँदै तल्लोस्तरको विरोध गरेका थिए। यो पटक ओली जनकपुर उत्रिँदा परिदृश्य फरक देखियो। त्यहाँ कसैले उनीविरुद्ध नाराबाजी गरेन। विरोध जनाएन पनि।
किन त ?
सम्बन्धित खबर : मोदी हेलिकोप्टर होइन एटिआर ७२–६०० विमानबाट जनकपुर अवतरण
किनभने ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि त्यहाँ पुगेका थिए। भारतीय संस्थापन मधेसवादी दलहरुको शक्तिको मुख्य स्रोत रहेको आरोप लाग्दै आएको छ। हुन त नेपालका अरू दलको भारतमोह पनि कम्ति रोचक छैन।
तर मधेसवादी दलका ठूलै नेता पनि भारतीय दूतावासका तल्लो तहका कर्मचारीको खप्की खान विवश देखिन्छन्। सायद त्यही भएर हुनुपर्छ पनि मधेसवादी दलहरुका ‘खास मेहमान’को स्वागतका लागि जनपुर पुगेका ओलीविरुद्ध विरोधको कुनै श्वर सुनिएन। त्यस्तो माहोलको छनकै देखिएन।
हुन पनि प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्दो पहिरनमा जनकपुर उत्रिएका थिए। विमानस्थलमा रहँदासम्म सेतो कुर्ता घ्यू रंगको कमिजमा देखिएका ओलीले मोदीलाई भेट्ने बेलामा गलामा गम्छा पनि थपेका थिए।
ओली–मोदी एउटै रंगकाे यो पहिरनले संविधान निर्माण र नाकाबन्दीदेखि चिसिएकाे दुई नेताबीचको सम्बन्धलाई सुधारतर्फ लगेको संकेतकाे रूपमा कतिपयले लिएका छन्।
याे पनि : कुर्ता कमिजमा जनकपुर अाेर्लिए अाेली