देशभरि विप्लवको आतंक, ठाउँठाउँमा बम निसानामा चर्च र भाटभटेनी सुपरस्टोर
प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार
नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार आह्वान गरेको बन्दका क्रममा देशभरि विस्फोटका घटना भएका छन्।
बन्दको प्रभाव नदेखिएपछि पूर्व भूमिगत नेता नेतृत्वको पार्टीले आतंक फैलाउन विस्फोटको साहरा लिएको हो।
झापा मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराउँदा दुई बस क्षतिग्रस्त भएका छन्। मे १ ख २७३३ र मे २ ख २७२६ नम्बरको बसको डिजेल ट्यांकी, झ्यालका सिसा एवं टायरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए।
विप्लब कार्यकर्ताले तनहुँको व्यास नगरपालिका–३ स्थित मादी पुलमा प्रेसर कुकुर बम राखेका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लका अनुसार बिहान ५ बजे राखिएको सो बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। सेनाको टोली पुग्न ढिलो हुँदा केही समय सो क्षेत्रका जनजीवन त्रसित बनेको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार बिहान तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्तीभन्दा माथि बम विस्फोट भएको छ।
जिल्ला प्रहरी कार्यालय नायब उपरीक्षक विनोद घिमिरेका अनुसार त्यहाँ प्रेसर कुकरबम विस्फोट गराइएको थियो। ‘नजिकै भेटिएका टुक्रालाई आधार मानेर भन्नुपर्दा प्रेसर कुकुर बम भएको जस्तो देखिन्छ’, उनले भने।
पोखरा विमानस्थल प्रवेश द्वारमा बम भेटिएपछि विमानस्थल प्रभावित हुनपुग्यो। कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले सो ठाउँमा राखिएको बम निस्क्रिय पारेको छ। नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेको हुनसक्ने उनले बताए।
भाटभटेनी र चर्चमा विस्फोट
विप्लव कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपरस्टोरमा पनि बम विस्फोट गराएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार भरतपुर ओरालो नजिक रोयल सेन्चुरी होटल र भाटभटेनी बीचमा बम विस्फोट गराइएको छ।
विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको उनले बताए। प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको जानकारी दिए।
‘प्रारम्भिक अनुसन्धानबाट मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको देखिएको छु, उनले भने, ‘विस्फोट गराउने कार्यमा संलग्नको पहिचान भइसकेको छ।’
विप्लव कार्यकर्ताले पूर्व—पश्चिम राजमार्ग अन्तर्गत हेटौंडास्थि कर्रा खोला नजिक पनि प्रेसर कुकर बम राखेका थिए। जिल्ला प्रहरी मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठकाअनुसार सेनाको टोलीले सो बम निस्क्रिय पारेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा समेत बम विस्फोटन गराइएको छ। विस्फोटबाट चर्चमा भौतिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बम विस्फोटबाट चर्चका झ्यालमा क्षति पुगेको छ। विप्लब कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको प्रहरीले शंका गरेको छ।
बम विस्फोटको आतंकका कारण सर्वसाधारण त्रसित छन्। आतंककै कारण नेकपा अाह्वानकाे बन्दमा पूर्व—पश्चिम राजमार्गमा लामाे दूरीका सवारी साधन चलेनन्। पूर्वदेखि पश्चिमसम्मका बजार क्षेत्रहरू अाइतबार खुल्न सकेनन्। राजधानी काठमाडाैं भने बन्दकाे प्रभाव शून्य देखियाे। सवारी साधन निर्वाध सञ्चालन भए। विस्फाेटका घटना भएनन्।