दरबारमार्ग सामुहिक बलात्कार काण्ड: रेडकर्नर नोटिस जारी जारी हुने
प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार
प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा गत माघ ७ मा भएको सामुहिक बलात्कारको मुद्दा सोमबार अदालत बुझाउने भएको छ।
प्रहरीले करिब तीन महिना लामो अनुसन्धानमा ठेकेदार पृष्ठभूमिका आरोपी फेला पार्न नसकेपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीलाई चैत ६ मा नाटकीय ढंगले पक्राउ गरेको थियो। घटनाका अन्य आरोपी विकास गौतम र दिपक श्रेष्ठको सम्पूर्ण विवरण खुले पनि तीन महिनासम्म उनीहरुलाई पक्रन प्रहरी असफल भएको हो। यस्तै अर्का आरोपी रबी पौडेलको भने ठेगाना खुल्न सकेको छैन।
प्रहरीले संगठित अपराध निवारण ऐनअनुसार कारवाही थालेको सामुहिक बलात्कारको घटनाका आरोपी विकास गौतम ‘क’ श्रेणीको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सनका संचालक तथा नेकपा एमालेका नेता रामबहादुर गौतमका छोरा हुन्।
प्रहरी मिसिल अनुसार काभ्रेको चौरी देउराली गाउँपालिका स्थायी ठेगाना भएका विकास समेत सोही कन्स्ट्रक्सन कम्पनीमा कार्यरत छन्।
यस्तै अर्का आरोपी दिपक श्रेष्ठ सिन्धुपाल्चोकको लिशंखु गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन्। स्थानीय लालबहादुर श्रेष्ठका २९ वर्षे छोरा दिपक चीन सीमाबाट हुने तस्करीमा समेत संलग्न रहेका व्यवसायी रहेको खुलेको छ। प्रहरीले घटनामा संलग्न रहेका रबि पौडेलको भने नाम बाहेक अन्य विवरण खुलाउन सकेको छैन्।
आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी हुने
परिसरले नाम र ठेगाना खुलेका दुई आरोपी विकास गौतम र दिपक श्रेष्ठलाई पक्राउ गर्न अन्तर्राष्ट्रि प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारीगर्ने प्रक्रिया थालेको छ। परिसरले घटना लगत्तै फरार रहेकामध्ये रबि पौडेलको ठेगाना नखुलेका कारण उनको नाम भने रेड कर्नरमा नपठाउने भएको हो।
दरबारमार्ग सामुहिक बलात्कार कान्डका अाराेपी दीपक श्रेष्ठ र विकास गाैतम। ठेकेदार पृष्ठभूमिका उनीहरू पक्राउ परेका छैनन्।
परिसरका प्रवक्ता डिएसपी मोहन थापाले घर ठेगाना खुलेका आरोपीलाई स्थानीय ठेगानामा खोजीका लागि पत्र लेखे पनि पक्राउ गर्न नसकिएको बताए। उनले आरोपी पक्राउ गर्न प्रहरी प्रधान कार्यालयमार्फत ७७ वटै जिल्लामा सर्कुलर जारी गरिएको जानकारी दिए।
‘हामीले पक्राउको खोजी गर्न देशभरका प्रहरीको सहयोग लिएका थियौं, अब ठेगाना खुलेका आरोपीको हकमा रेड कर्नर नोटिस जारीगर्ने प्रक्रिया थालेका छौं,’ डिएसपी थापाले आईतबार नेपालखबरसँग भने। फरार आरोपीविरुद्द संगठित अपराध समेत लगाएकाले अदालतमा उपस्थित भए पनि सहुलियत नहुने दाबी गरे।
कामदार पुत्रको योजनावद्ध गिरफ्तारी
महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत चैत ६ मा पक्राउ गरेको दाबी गरिएका मुख्य आरोपी शैलेस कार्कीले पूर्व योजनाअनुसार प्रहरीमा आत्मसम्पर्ण गरेको खुलेको छ। घटनाका मुख्य आरोपी विकासका परिवारको योजनामा शैलेसले आत्मसम्पर्ण गरेका थिए।
स्रोतका अनुसार सुरुवातमा शैलेसले आत्मसम्पर्ण गर्ने र मुद्दा बुझाउनु दुई दिन अघि अन्य तीनले आत्मसम्पर्ण गर्ने योजना रहेको थियो। तर पक्राउ परेका शैलेसबिरुद्ध काठमाडौं प्रहरीले संगठित अपराध समेत थपेपछि गौतम परिवारको योजना तुहिएको हो।
अनुसन्धान अधिकारीहरुका अनुसार गौतम परिवारमा सहयोगीका रुपमा शैलेसका बुवाआमाले कामगर्ने गरेको अनुसन्धानमा खुलेको छ। शैलेसले होटल उडल्याण्डमा बुझाएको सवारीचालक अनुमतिपत्रमा उल्लेख रहेको ९८५११२३५९२ नम्बरको नेपाल टेलिकमको सिम समेत विकासका भाई विक्रम गौतमले प्रयोग गरिरहेका थिए। विक्रमले यसै नम्बरबाट सामाजिक सञ्जालमा फेसबुक अकाउण्ट समेत खोलेका थिए। केही दिनयता सो अकाउण्ट बन्द छ।
कार्की प्रहरीका उच्च तहबाट भइरहेको पूर्व योजनाअनुसारै पक्राउ परेको स्रोतको दाबी छ। उनलाई अनुसन्धान म्याद अवधि राखेर अदालतमा बुझाउने र अन्य आरोपी अदालतमा उपस्थित हुने सेटिङअनुसार उनले आत्मसमर्पण गरेका थिए। बलात्कारीमध्ये कार्की कमजोर आर्थिक हैसियतका हुन्।
यस्तो थियो घटना
दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा पूर्व योजनाअनुसार कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रबी पौडेलले एक १८ वर्षे युवतीको माघ ७ को राती सामुहिक बलात्कार गरेका थिए। पीडित युवतीले घटनाको अर्को दिन विहान (माघ ८) मा वृत्त दरबारमार्गमा दिएको ठाडो जाहेरीमा आफूलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने र गालिगलौज गरिएको उल्लेख छ।
नेपालखबरसँग सुरक्षित उक्त पत्रमा युवतीले घटनाका दिन आफू काँडाघारीस्थित एकजना साथीको घरमा गइरहेका बेला मुख्य आरोपी कार्कीले फोन गरेर घर पुर्याउने शर्तमा बोलाएको उल्लेख छ। पीडित युवतीले लिखित पत्रमा आरोपी कार्कीले अत्यन्त जरुरी रहेको भनेपछि आफु लाजिम्पाटस्थित भुमि क्याफेमा आएको बताएकी छन्।
क्याफेमा कार्कीबाहेक अन्य आरोपी ठेकेदार विकास गौतम, दिपक श्रेष्ठ र रबि पौडेल पहिलेदेखि बसिरहेका थिए। कार्कीको अनुरोधमा दुई गिलास वाइन र मम खाएपछि आफूलाई केही असजिलो भएको युवतीले लिखित जाहेरीमा उल्लेख गरेकी छन्।
अनुसन्धानमा पीडितलाई लैजानु अघि नै होटलमा दीपक श्रेष्ठका नाममा १० जनाका लागि भन्दै पाँचवटा कोठा बुक गरिएको थियो। होटल बुक गर्न शैलेस कार्की र आवास लामाको सवारी चालक अनुमतिपत्र प्रयोग भएको छ।
दरबारमार्ग प्रहरीले आर्थिक प्रलोभनमा वृत्तमै घटना मिलाएको बाहिरीएपछि डिएसपी तिलक भारतीलाई जिम्मेबारीबाट फिर्ता बोलाउदै प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ।