अखिर को हुन्, हिंसा भड्काउन आफैलाई गोली हान्न लगाउने श्रीनिवास?
प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार
हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा आचार्य श्रीनिवास हिरासतमा छन् । प्रहरीले पक्राउ गरेकै दिनदेखि बिरामी भएको बहानामा अस्पतालमा बसेका छन् । पछिल्ला दिनहरुमा उनी निराहर बस्न थालेका छन् ।
प्रहरीले भने उनलाई पक्राउ गर्दाको आरोप भन्दा बाहिर गएर मंगलबार हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबारै १० दिनको म्याद दिएपनि सर्वसाधारणले भने मुद्दा कमजोर बनाउन फरक मुद्दा दर्ता गरिएको आशंका गरेका छन्।
पुरान बाचकको परिचयबाट सुरु भएको श्रीनिवासको सार्वजनिक जीवन आफु नभएको बेला भक्तजन र अनुयायीहरुलाई आफ्नै खराउमा पुजा गराउने कार्यसम्म पुगेको थियो।
अखिर को हुन् त यि श्रीनिवास? यसरी सबै ठाउँमा चलखेल गर्न सक्ने श्रीनिवासको हैसियत कसरी बन्यो? प्रश्नहरुको उत्तर खोज्दा अन्य बाबाहरुकै जस्तो देखिन्छ, यिनको पनि जीवन चक्र।
बाराको सिमरा ३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमतीका एक मात्र छोरा हुन् श्रीनिवास, उनको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो।
२०४८ भदौ ९ गते नुवाकोटको तारुकास्थित मामा घरमा जन्मेका पण्डितले ५ कक्षासम्म सिमरास्थित बोर्डिङ्ग स्कूलमा र एसएलसी स्थानीय सामुदायिक विद्यालयबाट उतिर्ण गरेका हुन्।
नेपाली सेनाका सिपाही पिता दिपप्रसादले उनलाई उच्च शिक्षा अध्ययनका लागि कक्षा ११ मा स्थानीय उच्च माध्यमिक विद्यालयमा भर्ना गराएपनि पढ्दापढ्दै घर छाडेर धार्मिक अभियानमा लागेको आमा कान्तिमतीले बताउँछिन्।
‘उनी भागेर सर्लाहीको हरिवौनका पण्डित अजित शरणको घरमा बसेर पूजापाठ बिधि सिके,’ आमाले भनिन्, ‘म रुँदै खोज्न गएको बखत दिनेशले पूराण बाचन बिधि सिकेर घर फर्किने भन्यो र नभन्दै २/३ महिनामा फर्केर १६ वर्षको उमेरमा आफ्नै घरबाट श्रीमद्भागवत पूराण बाचन सुरु गरे।’
छोराले घरमा पूराण बाचन गरेको शैली धेरैले मन पराएर छोटो समयमा नै लोकप्रिय बनेको सम्झन्छिन्, उनी। ‘१८ वर्षको युवाले प्रभावशाली शैलीमा पूराण बाचन गरेको देखेर अन्य ठाउँमा पनि बाचनका लागि माग बढदै गयो,’ कान्तिमतीले भनिन्। पूराण बाचनका लागि २०६७ सालमा सुनसरीको चक्रघटीस्थित शिवालय मन्दिरमा आएदेखि फर्केर घर गएका छैनन्।
बाबुआमा नै एउटै छोरालाई भेट्न आउने गरेका छन्। धार्मिक अभियानमा लागेपछि काठमाडौंस्थित बैंकटेशका मठाधिस पद्मधर श्वामी जीले दिनेशलाई आचार्य श्रीनिवास नाम दिएका थिए।
चक्रघटीका स्थानीय ५८ बर्षीय राधा पराजुलीले श्रीनिवासको पूरानो बाचन प्रभावशाली भएकोले कोशीटप्पुस्थित ठाकुरबारीमा मन्दिर स्थापनार्थ अर्को पूरानो लगाएर त्यही आश्रम बनाएर राख्ने स्थानीय आग्रह गरेको बताइन्। त्यहाँ असुरक्षा महसुस गरेर प्रकाशपुरस्थित त्रिदण्डी जियर शनी महराज जीको आश्रममा बस्न थालेको बताउँछन्। पछि चक्रघटीबासीले ५ कठ्ठा ऐलानी जग्गामा आश्रम निर्माण थालेपछि २०७३ असोजबाट यहाँ आएर थाले।
स्थानीय ५६ बर्षीया इन्दिरा पोख्रेलले आचार्यको शक्तिशाली वाककलाले बराह नगरपालिकाका ११ वटै वडामा अनुयायी बनेको बताइन्। ‘आचार्यको अनुयायीमा अधिकांश महिला छन्,’ उनले भनिन्, ‘आचार्यको प्रवचन क्रान्तिकारी हुन्छ जसले मानिस चाँडै प्रभावित हुन्छन्।’
श्रीनिवाससँग सहयोगीका रुपमा नुवाकोट बिदुर नगरपालिका २ का प्रजुन प्याकुरेल, ब्यबस्थापकमा सप्तरीको फत्तेपुरका इन्दिरा श्रेष्ठ, पूराण उपवाचकमा बाराको सिमरा बजेनीका नारायणप्रसाद आचार्य, भान्सेमा इटहरीका पुरुषोत्तम भट्टराई बस्दै आएका छन्। आचार्य सधैं कतै न कतै पूराण बाचनका लागि गइराख्ने उनीहरु बताउँछन्।
श्रीनिवासका सहयोगी प्याकुरेलका अनुसार श्रीनिवासले पूरान बाचन गर्ने क्रममा हिन्दु राष्ट्र कायम, गौ हत्या बन्द र धर्म परिवर्तनकारीलाई कारबाहीको पक्षमा समेत प्रवचन दिंदै आएका थिए। ‘पूराण बाचनसँगै हिन्दु राष्ट्रको पक्षमा जनमत तयार गर्ने अभियान आचार्यले सञ्चालन गर्दै आउनु भएको छ,’ उनले भने।
उनले पूराण बाचन गरेको हरेक ठाउँमा १/२ दिन हिन्दु राष्ट्रका लागि सडकमा अनुयायीहरुलाई उतार्ने गरेको उनी बताउँछन्।
हन्दु राष्ट्र, गौ हत्या बन्द र धर्म परिवर्तनकारीलाई कारबाहीको माग गर्दै २०७१ बैशाख ४ गतेबाट काठमाडौंमा लगातार १ वर्षसम्म अनसन बसेको थिए। पूरान लगाएपछि हुने आम्दानी पनि त्यही अभियानमा खर्च गर्थे।
काठमाडौंमा बसेको अनसन प्रभावकारी नभएपछि इटहरीमा पूराण लगाएर ४६ लाख रुपैयाँ जम्मा गरी दुई महिनासम्म २०७२ सालमा आन्दोलन गरेको सहयोगीहरु बताउँछन्। लहान, चितवन, बुटबल, नवलपराशीलगायतका ३४ जिल्लामा कार्यक्रमहरु गराएका थिए।
उनी झण्डै ७ सय महिलासहितको आफ्ना अनुयायीहरुका साथ काठमाडौंमा पनि आद्द्दोलन गर्ने भन्दै आएका थिए। लक्ष्मी बंङ्कटेशका सचिव रमेश कार्कीका अनुसार त्यही क्रममा उनले पूर्व राजा ज्ञानेन्द्र, बिभिन्न पार्टीका ठूला नेता, भारतीय धर्मगुरुलगायतसंग सम्पर्क स्थापित गरे। सहयोगीहरुका अनुसार उनी भारत पनि गइरहन्छन्, पूर्व राजा ज्ञानेन्द्रले मन पराउँछन्।