नेकपा​ ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता


प्रकाशित मिति : जेष्ठ ३, २०७५ बिहीबार

एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । उहाँले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताउनुभयो ।

पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा प्रचण्डसहितका नेता उपस्थित थिए । पार्टी दर्ता गर्न पुगेका केपी शर्मा ओलीले ओली कानुनको मर्यादा अनुसार नै आयोगमा दल दर्ता गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई पार्टीको फरक अस्तित्व खारेज गरेर नयाँ बनायौँ । यो एकता कानुनी हिसाबले दर्ता हुन जरुरी भएकैले दर्ता गर्यौँ ।’

अर्को पनि कम्युनिष्ट पार्टी छ नि भन्ने प्रसंगमा ओलीले भन्नुभयो, ‘नामको सन्दर्भमा हामीबाहेक अरु कोही कम्युनिस्ट पार्टी छन् भन्दा पनि हाँसो लाग्छ । यदि कसैले यो नाममा दर्ता गरेको भए त्यो चुनावपछि खारेज भैसक्यो ।’

त्यस्तै प्रचण्डले नागरिकको आकांक्षा पूरा गर्न आफूहरु एक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नेपालीले अब सुशासन स्थिरता र विकास छिटो होस् भन्ने चाहना राखेका छन् । त्यो पूरा गर्न एकता गरेका हौँ । नागरिकलाइ दिएको आश्वासन पूरा गर्न थप इमान्दार हुन यो एकताले बल पुर्याउँछ ।’

निर्वाचन आयोगले दुई ठूला पार्टीबीच भएको एकता प्रक्रियालाई स्वागत गरेको प्रमुख आयुक्त अयोधिप्रसाद यादवको भनाई थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com