एकजना मावि शिक्षकको भरमा विद्यालय सञ्चालन


प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार

महोत्तरीको गौशाला–१०, बहादुरगञ्जमा रहेको राष्ट्रिय मावि वर्षौंदेखि एक शिक्षकको भरमा सञ्चालन भइ रहेको छ।

वर्षौं पहिले स्थापना भएको यो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालन हुँदै आएको हो।

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा प्रधानाध्यापक शुभकरण यादव एक मात्र मावि तहका शिक्षक हुन्। विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक छैनन्।

प्रावि तहमा रहेको तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौ शिक्षक छन्।

जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्न कठिन भइरहेको विद्यालय स्रोतले जनाएको छ। विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले गुनासो गरेका छन्।

विद्यालयमा कम्प्युटरको व्यवस्था भए पनि शिक्षक अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार गरे।

उनले यस सम्बन्धमा आफूले स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराएको तर कसैले सुनुवाइन नगरेको बताए।

यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहेका गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अब केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा यस विद्यालयले पहिलो प्राथमिकता पाउने बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com