मलेसिया जानका लागि गरिने पुर्व श्रम स्वीकृति बन्द


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ। श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो।

श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो।

यसैबीच नयाँ कामदार छनौट प्रक्रिया अबरुद्ध भएको छ। मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका छन्। यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ।

यसरी कामदार पठाउने प्रक्रिया रोकिएको भन्दै नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले गाँठो चाँडोभन्दा चाँडो फुकाउन सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष रोहन गुरुङले कामदार पठाउने प्रक्रिया रोकिन नहुने गरी  अब सरकारले कदम चाल्नु पर्ने बताए।

एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने श्रम  मन्त्री गोकर्ण  विष्टले बताएका छन्।

त्यस्तै अवैध रुपमा माइग्राम संस्था दर्ता भएको भन्दै मन्त्री विष्टले त्यसका लागि १२५ मलेसियन रिंगिट दर उठाउने काम गैरकानुनी भएको भन्दै त्यसलाई पनि खारेज गरिएको बताए।

‘मलेसियामा पनि सरकार परिवर्तन भएको छ, कामदारलाई आर्थिक भार पर्ने निर्णय हटाइएकोमा मलेसियन सरकारले पनि साथ दिन्छ भन्ने हाम्रो विश्वास छ’, मन्त्री विष्टले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com