ट्रम्प-किम शिखर वार्ता : उत्तर कोरियाली सैनिक जर्नेल अमेरिकातर्फ जाँदै


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च सैनिक अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ ।

उत्तर कोरियाका सैनिक जर्नेल किम याेङ चाेल मङ्गलबार चीनको बाटो हुँदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

वार्ताकाे तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ ।

उक्त वार्ताको तयारीकै क्रममा ती उ. काेरियाली अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । यसले सो वार्ताका लागि तयारी लगायतका अरु पनि कार्यमा सहजता थप्ने अनुमान पनि गरिएको अधिकारीहरुको भनाई छ ।

उता गत आइतबार मात्र पनि केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलमा सहभागीहरुले त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता र आगामी शिखर वार्ताको तयारीका बारेमा व्यापक परामर्श गरेका थिए ।

निर्धारित समयमै वार्ता

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएको दुबैतर्फका अधिकारीहले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार नै ट्वीट गर्दै अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र त्यसले आगामी वार्ताको तयारीका आवश्यक कुराकानी गर्ने बताएका थिए । त्यस प्रतिनिधिमण्डलले सोमबार र मङ्गलबार पनि उक्त वार्ताको बारेमा निरन्तर रुपमा परामर्श गरेको बताइएको थियो ।

मङ्गलबार अमेरिकाको लागि हिँडेका उत्तर कोरियाका जर्नेल चोलले पनि अमेरिकामा उच्च अधिकारीहरुसँग भेटगरी प्रस्तावित दुई देशको वार्ताको बारेमा तयारी गर्ने बताइएको छ ।

उनी मङ्गलबार मात्र चीनको राजधानी बेइजिङ्स्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । जर्नेल किम मङ्गलबार चीनमै रहने र त्यहाँका सरकारी अधिकारीहरुसँग यस विषयमा छलफल गर्ने कार्यक्रम रहेकाे बताइन्छ ।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीचमा हुन लागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीहरुसँग परामर्श गर्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com