जुम्लामा रोपाइँको चटारो, प्रसिद्ध कालीमार्सी धानको उत्पादन भने निरन्तर घट्दो
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
उच्च हिमाली जिल्ला जुम्लाका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तर, जुम्लाको पहिचान बोकेको रातो कालीमार्सी धान लोप हुँदै गएकोमा भने स्थानीय चिन्तित छन् । रासायनिक मल र अन्य विषादीको प्रयोगले कालीमार्सीको उत्पादन घट्दै गएको हो ।
जुम्लाको खेतीयोग्य ३९ हजार ४ सय ८६ मध्ये ३ हजार १ सय ५४ हेक्टरमा विशेषगरी कालीमार्सी, चन्द्रथान–१, चन्द्रनाथ–२ र छुमरुम जातको धान बढी रोपिन्छ । तर, पछिल्लो समय विभिन्न उन्नत जातको धानप्रतिको आकर्षण तथा रासायनिक मल र खेतमा झार नउम्रेर्ने ‘ब्यूटाकुलर’ बिषादीको प्रयोगले रैथाने कार्लीमार्सी धान लोप हुँदै गएको छ । सीमित उत्पादन हुने कालीमार्सी धानको स्वाद र गुणस्तरसमेत खस्किदै गएको कृषकको भनाइ छ ।
तत्कालीन राजा–रजौटाले हुलाकमार्फत मगाएर कालीमार्सीको चामल खाने गरेको सम्झने स्थानीय उत्पादन निरन्तर घटेका कारण पछिल्लो समय यसको खेतीमा निरुत्साहित छन् ।
प्रतिकिलो तीन सय रुपैयाँसम्म पर्ने कालीमार्सी चामलको माग काठमाडौं, नेपालगन्ज र सुर्खेतमा अधिक भएपनि उत्पादन धेरै हुने भएकाले अधिकांश किसानले उन्नत जातकै धान रोप्न थालेका छन् । जुम्लाको १ हजार ३ सय हेक्टरमा कालीमार्सीको खेती हुने भए पनि ‘ब्लास्ट’ रोगको संक्रमण बढेसँगै यसको खेती र उत्पादन निरन्तर घटिरहेको छ ।
खेतीयोग्य जमिन नासिनु, तरकारी खेतीतर्फ आकर्षण बढ्नु र बसाइँ–सराइको क्रम बाक्लिनुले पनि मार्सीधान संकटमा परेको स्थानीयको बुझाइ छ । कृषकमा कालीमार्सीप्रतिको आकर्षक निरन्तर घटेपपछि स्थानीय तह भने यसको संरक्षणमा चिन्तित देखिन थालेका छन् । अनुदान दिएर भएपनि जिल्लाको पहिचान कायम राख्नुपर्नेमा स्थानीय तहको जोड छ ।
प्रतिहेक्टर १५ क्विन्टल गरी जुम्लाभर २ हजार ८० मेट्रिक टन मार्सीधान उत्पादन हुने आंकडा छ । विषादी मुक्त जिल्ला घोषणा गरेपनि निरन्तर प्रयोग भइरहेका कारण पनि कालीमार्सी संकटमा परेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।