‘यसै वर्ष नेपाली पानीजहाज चल्छ, अालाेचकलार्इ उद्घाटनमा सँगै लान्छु’-प्रधानमन्त्री अाेली


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजकाे कुरा त्यत्तिकै नअाएकाे दाेहाेर्याएका छन् । उनले यसै वर्ष नेपाली पानी जहाज चलाउने र साेकाे उद्घाटन कार्यक्रममा अहिलेका अाफ्ना अालाेचकलार्इ समेत सँगै लैजाने दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे बुधबार बसेकाे बैठकमा सम्बाेधन गर्दै प्रम अाेलीले भने, ‘जलमार्ग र रेलमार्गका कुरा गर्दा कसैकसैलाई सह्य भएकाे छैन, हेर्दै जाअाैँ यसै वर्ष बंगालकाे खाडीबाट नेपाली पानीजहाज सञ्चालन भए अनौठो मान्नुपर्दैन ।’

सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको दाबी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हाम्राे अाफ्नै पानीजहाज उद्घाटनमा आलोचकलाई पनि सँगै लानेछु ।’

कोलकाता बन्दरगाहबाट चाँडै मालसामान ओसारपसारका लागि पानीजहाज चल्ने उनले बताए । आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।

बजेटबारेका असन्तुष्टिप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘यो बजेट हावादारी हो भन्ने पनि सुनियो, तर बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी कुराे हो ।’ विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको उनको दाबी छ ।

उनले रेल र जलका कुरा पटकपटक उठाए । पूर्व–पश्चिम, उत्तर–दक्षिण, वीरगन्ज–काठमाडौं रेल बनाउने कुरालाई सामान्य अर्थमा लिन नहुने बताउँदै प्रम अाेलीले भने, ‘रेल बनाउने कुरा एउटा मान्छे ट्रेकिङमा हिँडेको जस्तो होइन । हामी अहिले नेपाल बनाउने अभियानमा छाैं ।’ काम गरेर देखाउने उनले प्रतिबद्धता समेत गरे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com