चीनको विदेश सहायता बढ्दो, विश्वव्यापी प्रभावमा जापान र भारतलाई उछिन्यो
प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार
पछिल्ला वर्षहरुमा चीनले विदेश सहयोग कार्यक्रम बढाएसँगै सो देशको विश्वव्यापी प्रभाव पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ। अमेरिकास्थित एडडेटाका अनुसार चीनले जापान र भारतलाई पछि पारेको छ भने अमेरिकासँगको दूरी घटाएको छ।
सन् २०१४ को सर्वेक्षणमा २९ औँ स्थानमा रहेको चीन यो वर्ष २१ औँ स्थानमा उक्लेको छ।
एडडेटाले विश्वका ३५ ठूला दाताहरुको बारेमा अध्ययन गरेको थियो। जसमा जापान २५ औँ स्थानमा छ भने भारत २४ औँ स्थानमा रहेको छ।
१२६ अर्ब डलरको लागतमा चलिरहेको बेल्ट एन्ड रोड इनिसियटिभले चीनको विश्वव्यापी प्रभाव बढाउन महत्वपूर्ण भूमिका खेलेको सो अध्ययनले बताएको छ।
यद्यपि अझै पनि मुख्य दातृ राष्ट्रका रुपमा अमेरिका नै रहेको छ।
सन् २००० देखि २०१४ सम्म अमेरिकाले ३९४ अर्ब डलर रकम विदेश सहयोगमा खर्च गरेको छ भने चीनले यो अवधिमा १४० देशमा ३५४ अर्ब खर्चेको छ।
गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहयता रकममा २८ प्रतिशतको कटौती गरेका छन्। तर अहिले नै अमेरिकाले प्रभाव गुमाउँदै गएको भन्न नसकिने सो रिपोर्टको प्रमुख लेखक समान्था कस्टरले बताएकी छन्।
विश्वको सबैभन्दा प्रभावकारी दातृ निकाय भने अन्तर्राष्ट्रि मुद्रा कोष र विश्व ब्यांक हुन्।
दक्षिणपूर्वी एसिया र प्रशान्त क्षेत्र, मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा चीनको सबैभन्दा बढी प्रभाव रहेको छ।
‘पैसाले माया किन्न नसकेपनि यसले दाताहरुलाई टेबलमा स्थान दिन्छ,’ दातृराष्ट्रको प्रभावबारे कस्टरले भनिन्, ‘प्रभाव भनेको निर्णय लिइँदै गर्दा तपाईंले आफ्नो भनाइ राख्न पाउनु हो।’ एजेन्सी