कम्प्युटर चलाउन नजान्ने सचिवका कारण सेवाग्राही प्रभावित
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
मुलुकमै पहिलो पटक कम्प्युटर प्रणालीबाट सेवाग्राहीलाई सेवा दिने ठाउँमा कम्प्युटर चलाउन नजान्ने सचिव सरुवा भएर आएपछि धरान–६ पाचकन्या (साविक पाचकन्या गाविस) वडा समितिको कार्यालयको कामकाज ठप्प भएको छ ।
धरानमा गाभिएको पाचकन्यामा ०४९ सालदेखि मुलुकमै पहिलो पटक कम्युटर प्रणालीबाट सेवा सुरु गर्ने गाविस मानिन्थ्यो । धरान उपमहानगरपालिकाले आफ्ना सबै २० वटै वडामा कम्प्युटर र डिजिटल प्रविधिमा लैजाने जनाएपनि कर्मचारीहरुले प्राविधिक ज्ञान नजान्दा सेवाग्राही प्रभावित भएका हुन् ।
वडाध्यक्ष भुवनसिं बस्नेतले भने, ‘वडा कार्यालयमा सचिव त आए तर कम्प्युटर चलाउन नजानेपछि वडामा रहेका ९ हजार सेवाग्राहीले विहीबारदेखि सेवा लिनबाट बञ्चित भएका छन् ।’
वडा सचिव नारायण श्रेष्ठ धरान–१३ बाट सरुवा भएर गएका हुन् । वडा कार्यालयमा दैनिक जसो जन्म दर्ता, विभिन्न सिफारिस, मृत्यु दर्ता, जग्गाको नामसारी जस्ता काम लिएर आउने सेवाग्राही वडा समितिको सेवा अवरुद्ध भएपछि त्यसै फर्किएको वडाध्यक्ष बस्नेतले बताए ।
दुई महिनाको अवधिमा उक्त वडामा तीनजना सचिव परिवर्तन भएका छन् । पछिल्लो पटक सरुवा भएर आएका सचिव नारायण श्रेष्ठलाई कम्प्युटर प्रणालीबाट सेवा दिन नआएपछि सेवाग्राहीको काम हुन नसकेको वडाध्यक्ष भुवनसिंह बस्नेतले बताए ।
सचिव परिवर्तन भइरहँदा पनि सेवाग्राही प्रभावित भएका थिए । बल्ल बल्ल अएका नयाँ सचिवले कम्प्युटर चलाउन नजानेपछि सेवाग्राही झन् मारमा परेको बस्नेतले बताए । वडा सचिव फेरबदल हुँदा वडा समितिको कामकाजमा समेत समस्या हुन थालेको वडाध्यक्ष बस्नेतले बताए ।
उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सचिव फेरबदल भएकाले सेवाग्राहीहरुलाई केही असुविधा भएको र चाडै समस्या हल गरिने बताए ।