अंग्रेजसँग युद्ध लडेका ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका पुरातात्विक महत्वका हतियार हराउँदा किल्ला अवलोकन गर्न आउने पर्यटक निराश बन्ने गर्छन् ।
ऐतिहासिक गौरव बोकेको अमरगढी किल्ला यस क्षेत्रकै मुख्य पर्यटकीय आकर्षणका रुपमा विकास गर्नका किल्लाभित्र रहेको एतिहासिक हातहतियारको खोजी गरिनु पर्ने स्थानीयवासी बताउँछन् । डडेल्धुरा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य किल्ला बन्ने गरेको छ ।
किल्ला हेरेर फर्किसकेपछि इतिहासमा उल्लेख भएजस्तो कुरा नपाएको, नदेखेको उनीहरु बताउँछन् । इतिहासमा उल्लेख भएका सामग्री देख्न नमिलेको दार्चुलाबाट शैक्षिक अवलोकन भ्रमणका लागि किल्ला पुगेको शिक्षकले बताउनुभयो । किल्लाभित्रका हतियार हराउँदा ऐतिहासिक अमरगढी किल्लाको महत्व पनि घट्दै गएको छ ।
देशमा दशवर्षे जनयुद्ध हुनुभन्दा अगाडिसम्म किल्लामा नै हतियार रहेको स्थानीय खलङ्गावासीको भनाइ रहेको छ । सानो छँदा किल्लाभित्र तोप, बन्दुक, घरेलु भाला, गोलालगायतका हातहतियार देखेको स्थानीयवासी ३७ वर्षीय गणेशबहादुर मगरले बताउनुभयो ।
सानोमा देखेका हातहतियार अहिले गायब रहेको मगरको भनाइ छ । हाल किल्लामा जीर्ण पर्खालबाहेक अरु हातहतियार गायब रहेका छन् ।
विसं १९४७ मा निर्माण गरिएको अमरगढी किल्लालाई आधार बनाएर गोरखाली फौजले अंग्रेजसँग युद्ध लडेको इतिहासकारको भनाइ छ । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात् यो क्षेत्रको सदरमुकाम दिपायल सिलगढी सरेको किंवदन्ती रहेको पाइन्छ । यो किल्ला विशाल ढुङ्गाले कलात्मक तरिकाले निर्माण गरिएको छ । किल्लाभित्र युद्ध गर्नका लागि २२ वटा गुफा रहेका छन् ।
के-के थिए हतियार ?
माअाेवादी युद्धका कारण संकटकाल हुनुपूर्व अमरगढी किल्लामा पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, १०० जति बन्दुक, बम र गोला बारुद बनाउने छुट्टै घर, सैनिक पोशाकलगायतका सामग्री रहेको स्थानीय प्रत्यक्षदर्शीको भनाइ रहेको छ । हातहतियार गायब रहेका छन् भने मर्मतसम्भार हुन नसक्दा किल्ला जीर्ण बन्दै गइरहेको छ । पुरानो गुफा भत्किने अवस्थामा छन् । बडाकाजी अमरसिंह थापा बस्ने घर भत्किएर त्यसलाई पुनःनिर्माण नगरी टिनको नयाँ छाप्रो निर्माण गरिएको छ ।