कम्प्युटर अपरेटर पद खारेज हुने
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
कम्प्युटर अपरेटर पद खारेज हुने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख गरेको छ ।
संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।’
सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीलाई कम्प्युटरसम्बन्धी ज्ञान अनिवार्य गरिएकोले कम्प्युटर अपरेटर छुट्टै पद आवश्वक नरहेको भन्दै पद खारेज गर्न लागिएको हो ।
कम्प्युटर अपरेटरहरुले कार्यालयमा टाइपिङ, प्रिन्टिङ, डिजाइनिङ, डकुमेन्टहरु सेटिङ, इन्ट्री लगायत कम्प्युटरबाट हुने कामहरु गर्दछन् ।
हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् ।
कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छ । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।
तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन ।
हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ ।
अहिले भएका कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछ ।