१७ किलो सुन प्रकरण : भरियालाई साढे १० वर्ष जेल


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासों गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले बिहीबार १० वर्ष ६ महिना कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बिगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ । उक्त सुनको बिगोबमोजिमको मूल्य तत्कालीन अवस्थाको हो ।

संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्दामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । गत कात्तिक १६ मा पक्राउ परेका लामा पुस १७ देखि जिल्ला कारागारमा पुर्पक्ष थुनामा थिए ।

फैसलाअनुसार लामाले सुन ल्याउन प्रयोग गरेको बा५८प ४२९१ नम्बर मोटरसाइकल, हेल्मेट र मोबाइल पनि जफत गरिएको छ । उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेल र प्रतिवादीका तर्फबाट अभिवक्ता डा. गजेन्द्र अर्यालले बहस गरेका थिए ।

सुन ओसार्ने भरियाका रूपमा प्रयोग गरिएका लामालाई कैद फैसला सुनाइए पनि यसमा संलग्न अन्य व्यक्ति पत्ता लाग्न सकेका छैनन् । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयसहित प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोबाट सई नेतृत्वको टोली पनि खटिएको थियो ।

जिल्ला प्रहरीबाट अनुसन्धानमा खटिएका डीएसपी पदमबहादुर विष्ट, प्रहरी निरीक्षक बुद्धिसागर पुरी र गौरव महत साथै खुदी प्रहरी चौकीका तत्कालीन निमित्त प्रमुख असई नवराज भट्टराई सरुवा भइसकेका छन् ।

प्रहरीले अदालतमा पेस गरेको मिसिलमा झक्टु लामा भन्ने व्यक्तिले २० हजार रुपैयाँ दिएर बेंसीसहरमा पुर्‍याउन भनेको र झक्टुले गोरखा घर बताउने औतेमा लामाको नाम लिने गरेको उल्लेख छ ।

अनुसन्धानका क्रममा प्रहरीले मनाङ र गोरखा प्रशासनमा ती व्यक्तिले नागरिकता लिए/नलिएकोबारे सोधखोज गरेको थियो । नागरिकता नलिएको जानकारी आएपछि उनीहरूको पहिचान र तीनपुस्ते पत्ता लगाउन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी निरीक्षक पुरीका अनुसार लामाले आफूलाई २० हजार रुपैयाँमा सुन पुर्‍याउन अह्राइएको बयान दिएका थिए । उनले ती दुई जनाको नाम लिँदै अरू केही थाहा नभएको बताएका थिए । यसअघि दुईपटक सामान ओसारे पनि त्यसमा सुन रहेको आफूलाई थाहा नभएको लामाले बयानमा उल्लेख गरेका थिए ।

‘संगठित अपराधको विशेषता भनेकै एउटाले अरूलाई चिन्दैन । यहाँ पनि त्यस्तै भयो,’ पुरीले भने, ‘हामीले धेरै प्रयास गरेका हौं तर पत्ता लागेन ।’ लामाले बयानमा खुलाएको व्यक्तिको पहिचान भए उनीहरूलाई पनि लामालाई जति नै कैद र जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com