प्रधानमन्त्रीको चीन भ्रमणका बेला पाइपलाइन र सुरुङमार्गबारे ठोस काम हुन्छ : परराष्ट्रमन्त्री
प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका बेला विभिन्न परियोजनाका बारेमा ठोस काम हुने बताउनु भएको छ ।
क्रसबोर्डर ट्रान्समिसन लाइन, व्यापार र परिवहन, उड्डयन, पाइपलाइन, टोखा–छहरे सुरुङमार्ग तथा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका केही आयोजनाबारे ठोस काम हुने उहाँको भनाइ छ ।
उहाँले चीन र भारतसँग हाम्रो कुल गार्हस्थ उत्पादनको एक तिहाइ घाटा हुनु डरलाग्दो सङ्केत भएकाले अब सन्तुलनमा ल्याउने प्रयास हुने जानकारी गराउनु भयो ।
केही सञ्चारमाध्यमका सम्पादकहरूसँग आज भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनु भयो ।
सार्क शिखर सम्मेलनको मिति लम्बिएकामा चिन्ता व्यक्त गर्दै उहाँले नेपाल सार्कको विकल्प खोज्ने पक्षमा नभएको स्पष्ट पार्नु भयो ।
परराष्ट्रमन्त्रीले नेपालले धेरै देशसँग श्रम सम्झौता गर्न चाहेको र सम्झौता भएका मुलुकमा नेपाली श्रमिकको हकहित र कमाएको पैसा सजिलै नेपाल पठाउने वातावरण बनाउन प्रयास भइरहेको जानकारी गराउनु भयो ।