विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरूसँग गर्ने निर्णय पनि गरेको छ । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनु भयो ।

सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ । प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारगार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको पनि सरकारका प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५ लाई पनि स्वीकृत गरेको छ । त्यसैगरी, प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

प्रवक्ता बाँस्कोटाले कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको बताउनु भयो । सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरू विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरूलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार शीर्षकहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com