छुवाछुत विरुद्धको एउटा उदारणीय ‘क्रान्ति’ !
प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार
अध्यात्यामिक स्वभावका प्रधानध्यापक सदैव विद्यालयको गेट भित्र छिरेर पहिला सरस्वती र अन्य मठ–मन्दिरमा दर्शन गर्छन् ।
कार्यकक्षमा प्रवेश गरेलगत्तै दलित समुदायकी कार्यालय सहयोगीले गिलासमा पानी लिएर आउँछिन् ।
प्रधानध्यापकले पानी पिउँछन् । र, ‘धन्यवाद नानी’ भन्दै आफ्नो नियमित काममा लाग्छन् ।
यो प्रसंग हो, गुल्मीको एक विद्यालयको । र पात्र हुन्, सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक केशरबहादुर थापा र कार्यालय सहयोगी मीना विश्वकर्मा ।
यो हालैको कुरा पनि होइन । एक दशकदेखि यहाँ मीना कार्यलय सहयोगी छिन् । उनले विद्यालयका शिक्षक र अन्य कर्मचारीलाई सेवा गरिरहेकी छिन् ।
आजको दिन झण्डै १२ वर्ष अघि नेपालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन । हरेक बर्ष मनाउने गरिन्छ । तर, बेलाबेला छुवाछुतका घटना सतहमा आउँछन् । तर, महेन्द्र माविले उदारण पेश गरेको छ ।
आज यो उदारण यसकारण धेरै महत्वपूर्ण छ, संसदमा एक जना महिला सांसदले एक महिनादेखि कोठा नपाएको गुनासो गरेर हाम्रो सामाजिक सोचमाथि प्रहार नै गरेकी छिन् ।
सामाजिक विभेदको अन्त्यको अगुवाई महेन्द्र माविले नै गर्नुपर्छ भन्ने उद्देश्यका साथ जिल्लामा सम्भवत पहिलो पटक दलित समुदायकी महिलालाई कार्यालय सहयोगी राखिएको थियो ।
एक दशक अगाडि तम्घासका होटलमा समेत दलित समुदायका मानिसले मजदुरी गर्न पाउँदैन्थे । त्यहिँबेला यो विद्यालयले एउटा क्रान्ति गरेको थियो । उदारण पेश गरेको थियो ।
जिल्लामा कैयौै ठाँउमा अझैपनि छुवाछुतको रोग छ ।
शिक्षक नियुक्तिमा दलित समुदायका थुप्रै व्यक्तिले अवसर पाएका छन् । तर, कार्यालय सहयोगी राख्न चाहिँ धेरैले हिम्मत गरेका छैनन् ।
यस विद्यालयमा कार्यलय सहयोगी नियुक्तीको आफ्नै कथा छ ।
२०६४ साल । विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए, हाल कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ । उनलै शुरुमा गुल्मी नयाँगाउँकी विपन्न परिवारकी गीता विश्वकर्मालाई कार्यालय सहयोगीका रुपमा नियुक्त गर्ने निर्णय लिएका थिए ।
त्यसबेलाको नियुक्ती सम्झ्दै श्रेष्ठ भन्छन्, ‘गीताले दुई वर्षसम्म कार्यालय सहयोगीको काम गरेर दोश्रो विवाह गरेर हिँडिन् । उता उनले दोश्रो विवाह गरेका पुरुषकी पनि अर्की श्रीमती रहिछन् । श्रीमानले अर्का श्रीमति लिएर हिँडेपछि पीडित महिला मकहाँ आइन् । उनले जागिर मागिन् । त्यहीँबेला गीताका ठाँउमा मीनालाई राखिएको हो । त्यसपछि गीताले लगातार काम गरिरहेकी छिन् ।’
त्यसबेला विद्यालयमा कार्यलय सहयोगी राख्नु आफैमा चुनौतिपूर्ण थियो । ‘केही मान्छेले दलित महिला नियुक्ति गर्न नचाहेर चुनौती खडा पनि गरेका थिए’ श्रेष्ठले भने, ‘त्यस्ता मानसिकता भएकाले जति चुनौती खडा गर्न खोजे पनि म कडा भएँ । त्यसपछि समानताको सुरुवात विद्यालयबाटै सुरु गरिएको हो ।’
तीन सन्तानकी आमा मीनालाई श्रीमाले विचल्लीमा पारेर हिँडे पछि तम्घासमा राखेर छोरा–छोरी पाल्न र पढाउन निकै गाह्रो थियो । मीनाले ती दिन सम्झिइन्, ‘विद्यालयमा काम पाए पछि सजिलो भयो ।’
उनले विद्यालयमा काम थालेपछि कसैले पनि फरक व्यवहार नगरेको बताइन् ।
तम्घासको गाउँ भेगमा घर भएका र अर्का अध्यात्मिक स्वभावका शिक्षक कृष्णप्रसाद मरासीनी भन्छन् ‘हाम्रो हिन्दु धर्म ग्रन्थमा जातीय विभेद नै छैन । कसैले पछि सिर्जना गरेको कुप्रथालाई मिल्काउन यसरी नै हरेक विद्यालयल सुरुवात गरुन् ।’
विज्ञान शिक्षक रोम बिश्वकर्मा भन्छन्, ‘अहिलेसम्म आफूले शिक्षकवाहेक कार्यालय सहयोगी दलित समुदायबाट पाएको छैन । सम्भवतः यो विद्यालय नै पहिलो हो ।’
अंग्रेजी विषय शिक्षिका मीना पन्थीले विद्यालयस्तरबाटै यसरी सवैलाई सन्देश दिई विभेदको अन्त्य गरिनु पर्नेमा जोड दिइन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुरामणी पन्थीले विद्यालय स्तरबाटै विभेदको अन्त्य गर्न अन्य विद्यालयहरुले पनि दलित समुदायबाट कार्यालय सहयोगी राख्न सुझाव दिए ।
प्रधानध्यापक थापाले २०६४ साल देखि पहिलो पटक दलित समुदायबाट कार्यालय सहयोगी राखेर जातिय विभेद छैन र गर्नुहुँदैन भन्ने सन्देश दिएको बताए ।
‘यस विद्यालयमा कुनै विभेद छैन । हामी सवै जना मीनाले बनाएको चिया–नास्ता खान्छौँ । जिल्लाका अन्य विद्यालयमा अहिलेसम्म दलित समुदायबाट कार्यालय सहयोगी राखेको कुरा प्रकाशमा आएको छैन । अन्य सरकारी कार्यालयमा पनि दलित समुदायका कार्यालय सहयोगीलाई चिया नास्ताको जिम्मेवारी दिएको पाईएको छैन,’ उनले भने ।
२०६३ साल जेठ २१ गते पहिलो गणतान्त्रिक सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरको थियो ।
दिवसकै अवसरमा आज संसद बैठकमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले आफूले काठमाडौंमा एक महिनादेखि कोठा खोज्दा पनि नपाएको गुनासो गरेकी थिइन् ।
संघीय संसद बैठकमा कोठा नपाएको गुनासो पोख्दै विश्वकर्माले भनिन्, ‘सबै भन्दा दुखलाग्दो कुरा त काठमाडौंमै छुवाछुतको भेदभाव छ । हामीले कोठा खोजेको पूरा एक महिना भयो । तर कोठा भेटेको छैन । अनि भन्छन् यो छुवाछुतको अन्त्य भयो । यो छुवाछुतको भावना कतै छैन भनेर संसदभित्रै बारबार सुनिराखेका छौं ।’
काठमाडौंमा त छुवाछुतको विकराल अवस्था रहेको छ भने दूरदराजका गाउँमा कस्तो होला भन्ने प्रश्न गर्दै उनले छुवाछुतको अन्त्य व्यावहारिक रुपमा हुन नसकेको उनकाे भनाइ थियाे ।
उनले दलित भन्ने शब्द नै हटाइनु पर्ने भन्दै आफूहरु सिल्पी भएको पनि बताइन् । उनले आफूहरुले बनाएको भाँडाकुँडा, गरगहनादेखि कपडासम्म घरभित्र पस्ने तर आफूहरु चाहिँ कसरी दलित हुने भन्दै आक्रोश पोखिन् ।
सांसद विश्वकर्माको आक्रोशले अझैं पनि छुवाछुत प्रथा हट्न नसकेको प्रतिबिम्बित गर्छ । तर, गुल्मीको विद्यालयले भने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।