के फेरिन लागेकै हाे त प्रदेश २ काे सत्ता-समीकरण


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं २ काे सत्ता समीकरण फेरिन सक्ने संकेत दिएका छन् । पोखरामा पत्रकारहरूसँग बोल्दै प्रचण्डले संघीय समाजवादी फोरम नेपाल सरकारमा आएसँगै त्यो सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रदेश २ लाई बाँकी प्रदेशको अवस्थाभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थिर बनाउने कसरत भएको देखिरहेकाे भन्दै अब त्यसकाे ढाेका बन्द हुने अवस्था अाएकाे बताएका थिए ।

उनले कसैले सरकारप्रति नकारात्मक रूपमा सोचेमा प्रदेश २ मा पनि सत्ता-समीकरण परिवर्तन हुन सक्ने अाशयकाे अभिव्यक्ति दिए।

केही दिनअघि मात्रै अाेली सरकारले संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवलार्इ उपप्रधानमन्त्री दिँदै केन्द्र सरकारमा भित्र्याएकाे छ । त्यसअघि संविधान संशाेधन लगायत विषयमा सत्तारूढ दल नेकपा शीर्ष नेता र फाेरमबीच सहमति भएकाे थियाे ।

प्रदेश नं २ बाहेक अन्य ६ वटा प्रदेशमा तत्कालीन एमाले र माओवादी केन्द्रले मिलेर बहुमतकाे सरकार बनाएका थिए। प्रदेश २ मा राजपा र फाेरमबीच सम्बन्धमा फाटाे अाउन थालेकाे बताइएका बेला प्रचण्डले यस्ताे संकेत गर्नु अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

एक त प्रदेश २ का मुख्य मन्त्रीकाे केन्द्र सरकार र प्रदेश २ कै नेकपाका सांसदहरूसँग सम्बन्धमा खटपट रहेकाे बताइन्छ । अर्काे कुरा संघीय फाेरम नेकपासँग एकता गर्ने कुराकाे संकेत समेत अाइरहेकाे छ । यी कारणले प्रदेश २ काे सत्ता समीकरणमा हेरफेर हुने सम्भावना प्रबल छ ।

त्यसाे भयाे भने सातै प्रदेशमा वाम पार्टीकाे सरकार बन्ने सम्भावना टड्काराे हुँदै गएकाे छ ।

हाल प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग मिलेर फोरमले आफ्नो नेतृत्वमा सरकार बनाएको छ। पार्टी एकीकरणपछि गठन भएको नेकपाका शीर्ष नेताले आफू सरकारबाहिर रहेको प्रदेशको नेतृत्वबारे पहिलोचोटि सार्वजनिक टिप्पणी गरेका हुन्, जुन अर्थपूर्ण रूपमा हेरिएकाे छ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि प्रदेश नं २ मा नेकपा सबैभन्दा ठूलो दल बनेको छ। फाेरमकाे पनि साथ पाएपछि नेकपालार्इ सरकार बनाउन बाटाे सहज हुने देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com