पाठेघर खसेका १४ महिलाले उपचार पाउने
प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

सुनकोशी गाउँपालिका सिस्नेरीमा १४ जना पाठेघर खसेका महिला फेला परेका छन् । सिस्नेरीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जचाउँन आएका महिलाको स्वास्थ्य परीक्षणबाट १४ महिलाको पाठेघर खसेको भेटिएको हो । १४ मध्ये आठ महिलाहरूमा थर्ड डिग्री अर्थात पाठेघर बाहिर निस्किएको समस्या पाईएका छ । उनीहरूलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
पाठेघर सम्बन्धी जटिल समस्या भएका महिलाहरू ४० देखी ६५ वर्ष उमेरका छन् । अरु छ जना पाठेघर सम्बन्धी सेकेन्ड डिग्री समस्या भएका महिला हुन् । उनीहरूलाई रिङ्ग पेसरी लगाई उपचार गरिएको छ । सेकेन्ड डिग्री समस्या भएका महिलाहरू ३० देखि ५० वर्ष उमेरका छन् । शिविरमा १ सय ५ जना महिलाले महिला रोग विशेषज्ञ चिकित्सकबाटस्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा जटिल समस्या भनि पहिचान भएका आठ जना महिलालाई थप उपचारका लागि काठमाडौ जाँदा आउदा लाग्ने खर्च सुनकोशी गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले बताए ।
अधिकारीका अनुसार पाठेघर खसेका महिलाको उपचारका लागि प्रति व्यक्ती १० हजार यातायात खर्च व्यवस्था गरिएको छ ।
त्यसै गरी थर्ड डिग्री समस्या भएका महिलाहरूको काठमाडौमा निःशुल्क उपचारको व्यवस्था गरिने सहयोगी नेपालकी अध्यक्ष मेनुका पौडेलले बताईन् ।
पौडेलले पाठेघर खस्ने समस्या भएका महिलाहरूलाई नलुकाउन समेत आग्रह गरिन् । अधिकांश महिलामा सेतोपानी बग्ने, गन्हाउने पानी बग्ने, योनाङ्ग वरिपरि चिलाउने, महिनावारी गडबढी, अत्याधिक रक्तश्राव र पिसाव पोल्ने समस्या भेटिएको आयोजकले जनाएको छ ।
सुनकोशी गाउँपालिका ३ वडा कार्यलय सिस्नेरी र स्वास्थ्य चौकी सिस्नेरीको आयोजना तथा सहयोगी नेपाल काठमाडौको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन भएको हो । एक दिने शिविरमा पाठेघर खसेको पहिचान तथा स्त्रिरोग उपचार लगायत नाक कान घाटी, दन्त रोग र साधारण स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा सुनकोशी गाउँपालिका वाड नं.१, २, ३ र ४ का ४ सय ८४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा विशेषज्ञ डाक्डरबाट १ सय ३५ जनाले नाक कान घाटीको निःशुल्क परीक्षण गराएका थिए भने ४९ जनाको दाँत, र १ सय ९५ जनाको साधारण स्वास्थ्य परीक्षण गएिको सिस्नेरी स्वास्थ्य चौकी प्रमुख पदम खड्काले बताए ।