यी १० नेपाली राजदूतको जाने भयो जागिर, कुन-कुन देशका छन् ?
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।
कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् ।
राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका ६ जना छन् । जसमध्ये दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह , म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।
यसैगरी, राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।
यस्तै, तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । फोरम लोकतान्त्रिक अहिले काँग्रेसमा विलय भइसकेको छ ।
तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला काँग्रेस र राप्रपाबाट नियुक्त भएकाहरुलाई तत्कालै फिर्ता बोलाउन लागिएको स्रोतले बतायो । उनीहरुलाई फिर्ता बोलाएर योग्य व्यक्तिहरुलाई राजदूतमा नियुक्ति गर्ने तयारी गरकेो सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि डेढ महिनादेखि नयाँ मापदण्डको गृहकार्य गरिरहेको छ ।
भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिले राजदूत रिक्त छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधिको अवधि पूरा भइसकेको छ। रिक्त स्थानमा पनि आगामी केही सातामै राजदूत नियुक्त हुनेछन् ।
यसैगरी, सरकारले विदेशमा रहेका नेपाली नियोगहरु हेरफेर गर्ने भएको छ । नेपालीहरुको बसोबास भएको इटाली जस्ता देशहरुमा नियोग नभएको र अनावश्यक ठाउँमा भएकाले सरकारले नियोगहरुको थपघट गर्न लागेको छ । यस कार्यक्रमलाई सरकारले बजेटमै समावेश गरिसकेको छ।
Dainik Nepal