सेयरमा अंकित मूल्यका आधारमा लाभकर गणना तत्काललाई रोकियो अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व विभाग पत्र जाँदै
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
आन्तरिक राजश्व विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न नेप्सेलाई दिएको निर्देशन केहि दिनको लागि रोकिएको छ।
अर्थमन्त्रालयको निर्देशनमा विभागले लाभकर गणना गर्न बन्द गर्न लागेको हो।
लगानीकर्ता र अर्थमन्त्रालयका पदाधिकारीबीच आज भएको छलफल पछि पुरानै विधिबाट लाभकर गणना गरिने सहमति भएको छ। यो भन्दा पहिले सरकारले बोनस र हकप्रद सेयरमा पूँजीगत लाभकर गणना गर्दै आएको थियो।
त्यसको लागि एउटा समिति नै गठन गरेर लाभकरको समस्या समाधान गर्ने सहमति समेत भएको हो। समितिको नेतृत्वमा आर्थमन्त्रालयको वित्तिय वयवस्थापन महाशाखा प्रमुख रहने बताइएको छ।
सरकारको नयाँ निर्णय विभागमा पत्र आए पछि मात्रै कार्यन्वयन हुने आन्तरिक राजश्व विभागका निर्देशक यज्ञप्रसाद ढुंगेलले नेपालखबरलाई जानकारी गराए। पत्र भने अर्थमन्त्रालयबाट गैसकेको अर्थमन्त्रालयका वित्तिय व्यवस्थापन महाशाखाका एक अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए।
आन्तरिक राजस्व विभागले पनि धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पुरानै विधिबाट लाभकर गणना गर्न निर्देशन दिनुपर्ने हुन्छ।
विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको विरुद्ध लगानीकर्ता आन्दोलनमा उत्रिएपछि तीनदिन देखि शेयर रोकिएको हो।