बर्सेनि बढिरहेछ बलात्कार : बीस वर्षमा झण्डै ६ गुनाले बढ्यो
प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

विगत बीस वर्षमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशकअघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् ।
६ वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धासम्म बलात्कारका शिकार भएका घटना बेलाबेला सार्वजनिक भइरहेका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०५४/०५५ मा देशभरि १ सय ८१ वटा बलात्कारको घटना भएका थिए भने आर्थिक वर्ष २०७३/०७४ मा आइपुग्दा यो संख्या ११ सय ३१ पुगेको छ ।
पछिल्लो तीन/चार वर्षमा बलात्कार घटनाको वृद्धिदर पनि बढेको छ । आर्थिक वर्ष २०६९/०७० मा ६ सय ७७ घटना भएकामा आर्थिक वर्ष २०७०/०७१ मा ९ सय १२ घटना भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७१/०७२ मा ९ सय ८१ बलात्कार घटना भएका थिए ।
आर्थिक वर्ष २०७२/०७३ मा देशभरि १ हजार ८९ बलात्कारका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । केन्द्रीय अपराध अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्की बलात्कारका घटना बढेको मात्रै नभएर घटनाबारे प्रहरीमा उजुरी गर्ने सचेतना पनि बढेको बताउँछन् ।
राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापक तथा अधिवक्ता बिमला खड्का महिलामाथि यौनजन्य दुव्र्यव्यहारका घटनाहरू बढेको तथ्यांक महिला आयोगमा पनि आएको बताउँछिन् । ‘केटाकेटीबीच पहिले भावनात्मक र अन्तरंग सम्बन्ध बढ्ने अनि आपसमा खटपट सुरु भएपछि ब्याकमेलिङ गर्ने र यौनशोषण गर्ने प्रवृत्ति पनि बढेको छ’, खड्काले भनिन् ।
पीडकको तर्फबाट अढाइ दशकदेखि वकालत गर्दै आएका अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले सभ्य समाजमा बलात्कारका घटना बढ्दै जानु चिन्ताको विषय भएको बताए ।
उपत्यकामा धेरै उजुरी
देशभरिको तुलनामा उपत्यकामा बलात्कार घटनामा धेरै उजुरी पर्ने गरेको तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा १०८ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३/०७४ मा १४३ वटा मुद्दा दर्ता भएका छन् ।
ललितपुरमा आव २०७१/०७२ मा १७ वटा, ०७२/०७३मा ११ वटा र ०७४ मसान्तसम्ममा १० वटा बलात्कारका घटना उजुरी परेका छन् । भक्तपुरमा २०७१/७२ मा २१, २०७२/७३ मा १३ र २०७३/७४ मा ११ बलात्कारका घटना भएका छन् । अन्नपूर्णपोष्टबाट