पश्चिम सेतीमा थ्री गर्जेजको सम्झौता रद्द भएको छैनः चीन
प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार
चीनको विदेश मन्त्रालयले पश्चिम सेती परियोेजना सम्पन्न गर्न चिनियाँ कम्पनी थ्री गर्जेजसँग भएको सम्झौता रद्द नभएको जनाएको छ।
सरकारले ल्याएको नयाँ बजेटमा ७५० मेघावाटको पश्चिम सेती आयोजना नेपाल आफैंले निर्माण गर्ने गरी केही बजेट छुट्टयाइएपछि यो परियोजना फेरि चर्चामा छ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा नेपालखबरसँगको अन्तर्वार्तामा उर्जामन्त्री बर्षमान पुनले पनि पश्चिम सेती परियोजना नेपालले नै बनाउने गरी बजेट छुट्टयाइएको बताएका थिए।
फेरि चिनियाँ समाचार संस्था सिन्ह्वासँग मन्त्री पुनले परियोजना अगाडि बढाउन थ्री गर्जेज कम्पनी उत्सुक भए त्यसलाई निरन्तरता दिन सकिने बताएका थिए।
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि यो परियोजनाबारे विभिन्न प्रश्न उठेपछि चीनको विदेश मन्त्रालयले चिनियाँ कम्पनीले नेपालसँग गरेको सम्झौता खारेज नभएको जनाएको हो।
बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले आफुले सुनेसम्म यो परियोजना थ्री गर्जेजले बनाउने सम्झौता खारेज नभएको बताइन।
‘यो व्यापारिक परियोजना हो’, हुवाले भनिन्, ‘यो परियोजनाको आर्थिक संभाव्यता र अन्य पक्षबारे चिनियाँ कम्पनीले नेपाली पक्षसँग छलफल गरिरहेको छ।’
बुधबार नै लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जारी गरेको विज्ञप्तीमा पश्चिम सेती परियोजनाको आर्थिक संभाव्यताका विषयमा थ्री गर्जेजले गरेको पत्राचार बोर्डमा विचारधिन अवस्थामा रहेको जनाइएको छ।