अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा
प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो ।
उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो । उहाँको कार्यकाल अझै ६ महिना बाँकी थियो ।
उहाँले बिना जिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नुभयो ।
आयल निगमको कार्यकारी निर्देशकको साइन बोर्ड झुन्डयाएर बस्नुको कुनै अर्थ नरहेकाले आफूले राजीनामा दिनु परेको खड्काले स्पष्टिकरण दिनुभयाे । कार्यकारी निर्देशक खड्काले आफू नेतृत्वमा रहँदा निगमलाई सहज ढंगले पेट्रोलियम पदार्थको आपूर्ति गर्न सक्ने बनाउने प्रयास गरेको दावी पनि गर्नुभयो । उहाँले निगममा पेट्रोलियम पदार्थको भण्डार क्षमता नहोस्, पेट्रोलियम पदार्थको अभाव देखाएर आफ्नो व्यापार, व्यवसाय फष्टाउने मन्सायका साथ आफूमाथि जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाइएको दावी पनि गर्नुभयो ।
नेपाल आयल निगमको भण्डारण क्षमता विकासका सबै प्रदेशमा भण्डार केन्द्र स्थापना गर्नेक्रममा जग्गा खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कार्यकारी निर्देशक खड्कालाई विगत नौं महिनायता बिना जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा झिकाइएको थियो । कार्यकारी निर्देशक खड्काले आफूले निगमको नेतृत्व गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको, निगमलाई नाफामा लगेको जस्ता उपलब्धि हासिल गरिएको दावी गर्नुभयो ।