सिक्लेसदेखि हिमालको फेदीसम्म केबलकार ! डेढ अर्ब लागत


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

कास्कीको पर्यटकीय गाउँ सिक्लेसदेखि अन्नपूर्ण हिमशृंखलाको कोरीसम्म केबलकार निर्माण सम्भव देखिएको छ । प्रारम्भिक अध्ययनले केबुलकार सञ्चालन गर्ने मादी गाउँपालिकाको योजना उपयुक्त र सम्भव भएको देखाएको हो ।

चुनाव जितेलगत्तै गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले सिक्लेसको भुलकचादेखि हिमालफेदी कोरी भन्ने ठाउँसम्म अन्नपूर्ण हिमशृंखलाको फेदीसम्म केबुलकार चलाएर दृश्यावलोकन र हिमाल फेदीको खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने योजना ल्याएका थिए ।

गाउँपालिकाले क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीलाई केबलकार सञ्चालनको प्रारम्भिक अध्ययन गर्ने जिम्मा दिएको थियो । केबलकार सञ्चालन सबै हिसाबले उपयुक्त र सम्भव रहेको ३ महिना लगाएर प्राविधिकले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

‘हामीले ३ महिनासम्म अध्ययन गर्‍यौं । सबै हिसाबले केबलकार सञ्चालन गर्न उपयुक्त र सम्भव देखियो,’ इन्जनियरिङ कन्सल्टेन्सीका निर्देशक इन्जिनियर दण्डराज पौडेलले भने ।

कोरीमा वर्षको ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना छ ।

पोखराबाट २ घन्टामा सिक्लेस पुग्न सकिन्छ । सिक्लेसदेखि केबुलकारमा हिमालको काखमा पर्यटनकलाई पुर्‍याउने योजना गाउँपालिकाको छ । १५ मिनेटमै केबलकारमा कोरीसम्म पुगेर हिमाललाई छुन र हिउँमा रमाउन सकिने अध्ययनले देखाएको छ ।

केबुलकार सञ्चालन गर्न १ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको इन्जिनियर पौडेलले बताए । केबलकार साढे ६ किलोमिटर दुरीको हुनेछ । ‘प्रति केबुलकार ६ जना क्षमताको हुनेछ । प्रतिघन्टा ३ सय जनाले यात्रा गर्न सक्नेछन्, प्रतिदिन १२ सय जनासम्म यात्रु आउ-जाउ गर्न सक्नेे अनुमानित प्रतिवेदन तयार पारेका छौं,’ उनले भने ‘भौगोलिक, वातावरणीय, भूबनोट, प्राविधिक, मेकानिकल सबै हिसाबले केबलकार चलाउन सम्भव देखियो ।’

कोरीसम्म केबलकार पुर्‍याउन ५ प्रकारका २१ वटा केबल टावर राख्न सकिने अध्ययनले देखाएको छ ।

केबलकारबाट ३६ करोड रुपैयाँ वाषिर्क रुपमा आम्दानी गर्न सकिने छ भने १० करोड खर्चमा जाने अनुमान गरिएको छ । यसरी हेर्दा केबलकार सञ्चालनमा आएको साढे ५ वर्षभित्रैमा सबै लगानी उठाउन सकिने छ ।

५ जना विज्ञ र ४ जना सहायकले कन्सल्टेन्सीका तर्फबाट सम्भाव्यता अध्ययन गरेका थिए । प्रारम्भिक अध्ययनले केबलकार सञ्चालन सम्भव देखिएपछि अब विज्ञ टोली ल्याएर बिस्तृत सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोलीले गाउँपालिकालाई सुझाव दिएको छ ।

‘हामीले त्यहाँको जिओलोजिकल, मेकानिकल लगायतको प्राविधिक अध्ययन गरेर एउटा अनुमानित प्रतिवेदन तयार पार्‍यौं’ पौडेलले भने, ‘अब विज्ञ टोली झिकाएर बिस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्छ ।’

केबरकार सरकार तथा निजीको साझेदारीमा

गाउँपालिकाले केबरकार निर्माण गर्ने योजना अघि सारेपछि चिनियाँ कम्पनीसमेत लगानी गर्न इच्छुक देखिएको छ । एक चिनियाँ कम्पनीको टोलीले स्थलगत अध्ययनसमेत गरेको छ । अरु देशमा पनि केबरकार सम्बन्धी कामसमेत गरिरहेको चिनियाँ कम्पनीले हेलिकप्टरमार्फत कोरीसम्मै पुगेर अध्ययन गरेको गाउँपालिका अध्यक्ष वेदबहादुरले बताए ।

२ इन्जिनियरसहितको टोलीले अध्ययन गरेर प्रतिवेदन तयार पारिरहेको उनले उनले जानकारी दिए ।

अध्यक्ष गुरुङले केबलकार सञ्चालन सकारात्मक भए प्रदेश तथा पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताए । ‘निजी क्षेत्रसँग पिपिए मोडलमा पनि काम गर्न सकिन्छ,’ उनले भने, ‘भरसक प्रदेश सरकार तथा महानगर र यहीँका निजी क्षेत्रसँगको सहकार्यमा निर्माण गर्न पहल गर्नेछौं ।’

प्रदेश ४ को सरकारले पनि प्रदेशका ११ ठाउँमा केबलकार निर्माण गर्ने बताएको छ । अध्यक्ष गुरुङले आˆनै कार्यकालमा केबलकार निर्माण सम्पन्न गरेर पर्यटक पुर्‍याउने धोको रहेको सुनाए ।

२० लाख पर्यटक भित्राउँछौंः अर्थमन्त्री

प्रदेश ४ को सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यसका लागि यो परियोजना महत्वपूर्ण हुने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । ‘हामीले २० लाख पर्यटक भित्राउँछौं भनेका छौं । त्यसका लागि मादीमा बन्ने केबलकार पनि सहयोगी बन्नेछ’ गुरुङले भने, ‘सिक्लेसदेखि कोरीसम्म बन्ने केबलकारले सिक्लेस, ताङतिङ र मादी गाउँपालिकामात्रै होइन् प्रदेशकै निम्ति महत्वपूर्ण बन्ने छ ।’

सरकारले लक्ष्य गरेको पर्यटक भित्राउन कहाँ कति पर्यटक गइरहेका, कहाँ अझै जान सक्छन्, कहाँ केके पूर्वाधार तयार पार्ने भन्ने गुरुयोजना बनाएर अगाडि बढ्ने गुरुङले बताए ।

आगामी आर्थिक वर्षमा सरकारको कुल बजेटको ३५ देखि ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणमै खर्च हुने गुरुङले बताए । सरकारकको प्रमुख प्राथमिकतामा पर्यटन रहेको उनको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com