मोटरसाईकल चोरेर विक्री गर्ने गिरोहका ६ जना कैलाली प्रहरीद्वारा सार्वजनिक
प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार
जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरसाईकल चोरेर विक्री गर्ने गिरोहका पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले दिउँसो रेकी गर्ने र रातिको समयमा गई चोरी गरि नम्बर प्लेट परिवर्तन गरेर सस्तो मुल्यमा विभिन्न जिल्लामा गई मोटरसाईकल विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नहरुले कैलाली, कञ्चनपुर, बर्दिया र सुदूरपश्चिममा पहाडी जिल्लाहरुमा गई विक्री वितरण गर्ने गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा चारजना मोटरसाईकल चोरी गर्नेहरु कैलारी गाउपालिकाका संजु चौधरी, धनगढी उपमहानगरपालिका ६ का राम भजन राना र सुरज राना त्यस्तै गोरे भनेर चिनिने धनगढी उपमहानरपालिका ६ कै राम भजन राना र दुईजना विक्री वितरण गर्नेहरु घोडाघोडी नगरपालिका ९ का किसन चौधरी र कंचनपुर बेतकोट नगरपालिका ५ का पदम धानुक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताउनुभयो ।
प्रहरीले उनिहरु संगै चोरी गरेका ७ थान मोटरसाईकल समेत बरामद गरेको छ । जस मध्ये ५ वटा पल्सर मोटरसाईकल, एउटा अपाचे र एउटा सुपर स्प्लेण्डर रहेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ २१ गते धनगढी उपमहानगरपालिका ५ हसनपुरका नवदित केसीको मोटरसाईकल चोरी भएको निवेदनहरु आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा कञ्चनपुर जिल्लाको वेटकोट नगरापालिका ५ का पदम धानुको घरमा लुकाईरहेको अवस्थामा केसीको मोटरसाईकल बरामद गरेपछि प्रहरीले धानुकलाई पक्राउ गरि अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरु पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक घिमिलेरे बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा आएदेखि नै अपराध अनुसन्धानमा सक्रिय प्रहरी उपरीक्षक घिमिरेलाई एकपछि अर्काे सफलता मिल्दै गएको छ । गत हप्ता मात्रै दिउँसै गोली प्रहार गरि रकम लुट्ने समुहका सबैलाई पक्राउ गरि मुद्दा चलाईएको थियो ।