संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने सरकारको तयारी, तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइने
प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार
सरकारले संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने तयारी गरेको छ । यसै हप्ताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ ।
लामो समयदेखि प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नियुक्ति हुन सकेको छैन ।
कानून मन्त्री शेरबहादुर तामाङले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया यसै हप्ताबाट सुरु गर्ने जानकारी दिनुभएको छ । तर, अन्य संवैधानिक आयोगका प्रमुखको नियुक्तिमा केही समय लाग्न सक्ने मन्त्री तामाङको भनाई छ । यसअघि संसदीय सुनुवाइ समिति नै गठन नभएकाले नियुक्तिको प्रक्रिया रोकिएको सरकारले बताउँदै आएको थियो ।
संसदीय नियमावली बन्न नसक्दा संसदीय सुनुवाई समिति गठन हुन सकेको थिएन । संसदले नियमावली पारित गरेपछि समिति गठनको बाटो खुलेको छ । सुनुवाई समिति गठन हुन नसक्दा चैतको पहिलो हप्तादेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा न्यायपालिका चल्दै आएको छ ।
यस्तै अर्को महत्वपूर्ण संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग फागुनदेखि नै कायममुकाय प्रमुखको भरमा चलिरहेको छ ।
प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्ले यो महिनाको अन्त्यसम्म प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने काम गरिसक्ने बताइएको छ । संवैधानिक परिषद्ले गरेको नियुक्तिको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि औपचारिक नियुक्तिको ढोका खुल्नेछ ।