वीपी राजमार्गमा साना गाडीकोमात्र एकाधिकार हुन दिन्न : मन्त्री महासेठ
प्रकाशित मिति : जेष्ठ २८, २०७५ सोमबार
निर्माणको समयमा नै दर्जनौ व्यवधान व्यहोर्नु परेको धुलिखेल–वर्दिवास सडक पूर्वी नेपाल तथा मध्य तराईका केही जिल्लाका यात्रुको रोजाईको राजमार्ग हो । सञ्चालनमा आएदेखि नै लोकप्रिय बनेको यो राजमार्गले व्यवधान भने अझै पनि भोग्नु परिरहेको छ । विशेषत साना सवारी साधनका लागि लक्षित गरि निर्माण गरिएको यो राजमार्गमा ठूला सवारी साधनले पनि उपस्थिति जनाउन थालेपछि विवादमा तानिएको छ ।
सरकारको निर्देशन पश्चात गत जेठ १३ गते यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवाहन क्षमताका सवारी साधनलाई चल्न दिने निर्णय ग¥यो । साना सवारी साधनहरुलाई लक्षित गरि जापान सरकारले यो सडक बर्षौ लगाएर निर्माण गरेको हो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ भने वीपी राजमार्गमा रहेको साना सवारीको सिण्डिकेट तोडिएको दावी गर्नु हुन्छ ।
राजधानीसँग पूर्वी नेपाल र मध्य तराईका केही जिल्लालाई जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग भएकाले सवारीको चाप बीपी राजमार्गमा बढी नै छ । यद्यपी काठमाडौंवाट यात्रु भरेरमात्र सवारी साधन चल्ने गरेकाले छोटो दुरीमा यात्रा गर्ने स्थानीयहरुले भने कठिनाई भोग्दै आउनु परेको छ ।
जापान सरकारको २६ अर्ब लगानीमा बनेको सडक २०७१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । यातायात मन्त्रीकै स्वरमा भाका मिलाउदै यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेम सिंह पनि सडकमा ३८ सीट क्षमतासम्मका सवारी साधन गुडाउन मिल्ने प्राविधिक अध्ययनले देखाएको जिकिर गर्नुहुन्छ ।
नियम भन्दा माथि कोही पनि रहनु हुँदैन । जुन नियम पूरा गरेर सडक निर्माण गरियो , त्यो नियम मिच्दा पर्ने असर र प्रभावको बारेमा पनि राज्यले ध्यान दिन आवश्यक छ ।