अत्यधिक गर्मी भएपछि विद्यालय बन्द, विद्यार्थीमा देखियो बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने लगाएतका समस्या


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो । वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम्मका लागि तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा भने सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।

वीरगञ्जमा रहेका सम्पूर्ण विद्यालय आइतबारसम्मका लागि बन्द गराइएको महानगरपालिका शिक्षा शाखाका अधिकृत मञ्जुर अन्सारीले जानकारी दिनुभयो ।

अत्याधिक गर्मी बढ्दै गएपछि विद्यार्थी र अभिभावकको आग्रहमा सखुवा प्रसौनी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो ।

ठोरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय पनि पाँच दिनका लागि बन्द गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीमा बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या देखिन देखिएको ठोरी गाउँपालिकाका शिक्षा संयोजक छोटेलाल प्रसादले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com