बेइजिङमा बीआरआइमै हुनेछ ओलीको परिक्षण


प्रकाशित मिति : असार २, २०७५ शनिबार

राजनीतिक जीवनमा दोश्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका केपी शर्माओली यसै साता चीनको राजकीय भ्रमणमा निस्कँदैछन्। चीनले विगतमा महत्वका साथ नेपाललाई निम्त्याउने गरेको पोआऊ एशियाली मञ्च, शाङहाई सहयोग संगठन, वा चीन–दक्षिण एशिया एक्स्पो लगायतमा पछिल्लो चोटी देखाएको अनपेक्षित वेवास्तापछिको यो उच्चस्तरीय भ्रमणलाई जसरी चीनमा भने सुरूचीका साथ हेरिएको छ।

चिनियाँ राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओलीले असार ५ देखि १० गतेसम्म बेइजिङ यात्रा गर्न लाग्दा चर्चामा आएको विषय हो, बेल्ट एण्ड रोड इनिसियटिभ। उत्तरी छिमेकीको यो परियोजना नेपालको दक्षिणी छिमेकी भारतलाई अहिलेसम्म मन नपरेको विषय हो।

कालान्तरसँगै दोहोरिएको संयोग हो, आफैंले अघिल्लो प्रधानमन्त्रीकालमा गरेका सम्झौताहरू यस कार्यकालमा पूरा गर्नुपर्ने चुनौती ओलीमाथि आईपरेको छ। यत्तिकै पछि हट्ने हो भने ओलीको विगतको गर्जनलाई लिएर इतिहासले उपहास गर्नेछ, अघि बढ्ने हो भने दक्षिणसँग गरिएका विगतका केही मीठा सम्झौताहरू बिथोल्दै जानुपर्ने हुनसक्छ।

त्यसको एउटा उदाहरण अहिले नेपाल चुपचाप देखिएको बुढीगण्डकी जलविद्युत परियोजना हुनसक्छ वा हाल केरूङ–काठमाडौं–पोखरा–लुम्बिनी लैजान खोजिएको रेललाई केरूङ–काठमाडौंमै छोट्याउने गाइँगुइँ पनि हुनसक्छ। कतिपय त सतहमा आएका विषयहरू छन् भने कतिपय भित्रभित्रै दबाइएका एजेण्डाहरू पनि हुनसक्छन्। दक्षिणसँग गरिएका केही त्यस्ता सहमतिले ओलीलाई अघिल्लो पटकको बेइजिङ दौडको जस्तो आत्मविश्वास जगाउनसक्ने छैन, त्यसैले उनी कतिपय सवालमा मौन बस्न सक्छन् वा कतिपयमा घुमाउरो बाटो पनि लिनसक्छन्।

बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) को मार्गचित्रभित्र नेपाल–चीनबीचको गहन सहयोग, बलियो राजनीतिक सम्बन्ध, आर्थिक तथा व्यापारिक, पूर्वाधार, पुनःनिर्माण साथै द्विपक्षीय सम्बन्ध विकासको नयाँ उचाइ लिनका लागि उपयोगी हुने विश्वास प्रकट गरे। लगत्तै भारतीय मिडियाहरूमा बेल्ट एण्ड रोडको विषयलाई लिएर प्रतिक्रियाहरू देखिन थालेको कुरा चिनियाँ संचारमाध्यमहरूले अनुवाद गरेको देखिन्छ।

भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणबाट चिनियाँ छानखाउस्याउसी अनलाइनले अनुवाद गरेको छः ‘नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डामध्ये बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धित परियोजनाहरूलाई नै महत्वपूर्ण स्थानमा राखिनेछ।’

फेब्रुअरीमा प्रधानमन्त्री बनेका ओलीले गत अप्रिलमा दक्षिण छिमेकी भारतको भ्रमण गरेपश्चात् जुन १९ देखि उत्तरी छिमेकी चीनको भ्रमण गर्न लागेका हुन् भन्दै भारतीय संचारमाध्यमहरूले सन् २०१६ मा प्रधानमन्त्री भएका ओलीले पारवहन सन्धि गरेर तेश्रो मुलुकसँगको व्यापारका लागि भारतमाथिको युगौंदेखिको निर्भरतालाई तोड्ने बाटो खोलेका थिए।

चिनियाँ संचारमाध्यमहरूका अनुसार भारतीय मिडियाको चासोमा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवहन सम्झौताका प्रोटोकलहरू, थुप्रै एमओयूहरू र अन्य धेरै सम्झौताहरूमा हस्ताक्षर हुने कुराहरू परेका छन्। यिनै समझदारीहरू अन्तर्गत नै चिनियाँ रेल सञ्जाललाई काठमाडौं जोड्ने, अन्तरदेशीय ट्रान्समिसन लाइन, पर्यटन, सीमा बन्दरगाह, तिब्बती राजमार्गको प्रयोग तथा पेट्रोलियम भण्डारण केन्द्रको निर्माण पनि पर्दछन्।

चीनले अघि सारेको बीआरआइमा भारतको सहभागिता सुनिश्चित नभैरहेका बेला त्यहाँका प्रधानमन्त्रीले शानतोङ प्रान्तमा हालै भएको शाङहाई कोअपरेसनको बैठकमा पनि भारतको सहभागिताको हरियो बत्ती बाल्न चाहेनन्। भारतीय विशेषज्ञहरूको विचारमा क्षेत्रीय विकास तथा समृद्धिका लागि चीनको यस अभियानमा भारतको साथ नहुने हो भने त्यसले पूर्णता पाउन सक्दैन।

यसअघि भारतको अनिच्छाका बाबजुद नेपालले बीआरआइ हस्ताक्षर गरेको हो। ओली सरकार यसपटक यसै परियोजनाका बाँकी कार्यभार पूरा गर्न सफल हुन्छ कि, हिच्किचाउँछ भन्ने चासो नेपालभित्र पनि छँदैछ। अझ त्यो भन्दा ठूलो चासो नेपालका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर चीनमा छाउनसक्ने उत्साह र भारतमा छाउनसक्ने आशंकामा पनि देख्न सकिनेछ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com