‘परामर्शपछि परिवारले नै लैंगिक परिवर्तन गरिदिएका घटना छन्’ : पिङ्की गुरुङ, अध्यक्ष, निलहिरा समाज
प्रकाशित मिति : असार ७, २०७५ बिहीबार
निलहिराले अहिले समुदायको लागि के कस्ता नयाँ काम गर्दैछ ?
एचआईभी न्यूनिकरण तथा रोकथाम सम्बन्धि जनचेतना र मानव अधिकारसँगसम्बन्धि दुईवटा कार्यक्रम अहिले सञ्चालनमा छन् । हामीले समुदायलाई प्रत्यक्ष भेटेर अस्थायी साधन वितरण गर्ने,यदी कुनै व्यक्तिमा एचआईभि पोजेटिम देखियो भने सरकारसँग कोडिनेसन गरेर उपचार गराउन सहयोग गर्ने र मानव अधिकारका बारेमा अभियान नै चलाएकाछौँ ।
स्कुलहरुमा पुगेर ८,९ र १० कक्षामा अध्यायनरत विद्यार्थिहरुलाई तेस्रो लिङ्गी समुदायको बारेमा जानकारी गराईरहेकाछौँ । त्यसको साथै राजनीति दलहरु र पत्रकारसाथीहरुसँग पनि समुदायको बारेमा छलफल चलाईरहेकाछौँ । यो अभियानको मुख्य उदेश्य हाम्रो समुदायलाई हेर्ने दृष्टिकोमा परिवर्तन ल्याउनु हो ।
लामो समयको अन्तरालपछि तेस्रो लिङ्गीको नाममा नागरिकता पाउन थाल्नुभयो । कत्तिको सहज छ ?
सुरुको हाम्रो लडाई भनेको अस्तित्व र पहिचानको हो । सामाजिक बहिस्करण र कुरा सुनिदिने निकाय नहुँदा साथीहरुले पहिचान लुकाएका थिए ।
एक जमाना थियो,हामी केटी बनेर हिड्नु, समाजमा सबैभन्दा ठूलो अपराध मानिन्थ्यो । केटी बनेर हिड्न रातको सहारा लिनुपर्दथ्यो । त्यो बेला हामीलाई महिलामा परिणत गर्ने ज्ञान थिएन । त्यो सम्बन्धि टेक्नोलोजि पनि थाहा थिएन । आफ्नो आन्तरिक अनुभूति र आफ्नो शारिरीक बनावटसँग तालमेल नखाँदा निकै समस्या झेल्नु परेको थियो । समाजिक र पारिवारिक चुनौतिसँगै संघर्ष गर्यौँ । समुदायले कानुनी लडाईसँगै लंैगिक पहिचानको लडाई पनि जितेका छौँ । अहिले महिला र पुरुष बाहेक अन्य भनेर नागरिकता र पासपोर्ट दिन थालिएको छ ।
निकै कठिनतापछि पहिचानको अधिकार स्थापित गर्यौँ । संविधानमा पनि हाम्रो अधिकार उल्लेख भयो र कानुन पनि बन्ने प्रक्रियामा छ । संविधनमा लेखेका कुराहरु र सरकारले गरेका निर्णयहरु पालना गर्ने र गराउने व्याक्तिहरु अझै संबेदनसिल र सचेत भएका छैनन् । अस्तित्व र पहिचानसँग जोडिएर आउने अरु अधिकारहरु हामीले प्राप्त गर्न सकेका छैनौँ ।
नेपालबाट कानुनी रुपमा दक्षिण एसियालाई नै नेतृत्व गरेको छ, यसरी हेर्दा ठूलो परिवर्तन भएको मान्नुपर्छ । तर, समुदायको अवस्थामा सुधार पहिचानले मात्र प्राप्त हुँदैन । पहिचानसँग जोडिएर आएका अन्य अधिकारहरु राज्यले कसरी दिन्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पहिचानले जिवन चल्दैन । हाम्रो पहिचान सहित कामको लागि राज्यस्तरबाट त्यो खालको नीति नियम कस्तो बन्छ भन्ने कुरा हो, त्यो हुन सकेको छैन ।
सर्बोच्चले अन्य भनेर आदेश दियो । त्यसबमोजिम सरकारले निर्देशिका बनाएर परिपत्र जारी गर्यो । केन्द्रमा बस्नेलाई थाहा थियो, त्यो जारी गर्यो ७७ जिल्ला प्रशासनमा बस्नेहरु त्यो निर्देशिका अनुसार कार्यन्वय गर्ने चेतनास्तर छैन । राज्यले दिएको पहिचानको अधिकार लिन जाँदा अनाबश्यक प्रमाणिकरण गर्नुपर्ने, अनावश्यक झमेला लगाउने जसले गर्दा लुकेर बसेका समुदायका मान्छेहरु स्वतः स्फुर्त रुपमा जाँदा कर्मचारीहरुले लगाउने अनेकन झमेलाको कारण निरुत्साहीत गरेको छ ।
यसैगरी अस्तित्व र पहिचानसँग जोडिएर आएका शैक्षिक र स्वास्थ्य अधिकार, आरक्षण,सामाजिक न्याय र सुरक्षासँगै देश विकासमा यो समुदायलाई सहभागी गराउन सकिन्छ भन्ने सोच राज्यस्तरमा हुुनपर्छ जुन महत्वपूर्ण हुन्छ । समाज परिवर्तनको लागि राज्यले कस्तो भूमिका खेल्ने भन्नेमा भर पर्छ । नीति र संविधान बन्यो तर,त्यो पालना गर्नेले नगरेपछि चुस्तदुरुस्त काम हुँदैन ।
भनेपछि,समुदायले अहिले पनि राज्यले दिएको अधिकार प्राप्त गर्न हरेक पाईलामा लडाई गर्नु परेको छ ?
राज्यले दिएको अधिकार, त्यो पनि नागरिकता सहज रुपमा पाएका छैनौँ, त्यसको लागि पनि संघर्ष गर्नु परेको छ । राज्यको जिम्मेवार निकायमा रहेका खासगरी जिल्लाहरुमा कर्मचारीहरु संवेदनशिल देखिएन । राज्यले कार्यन्वयन गर्ने निकायका व्यक्तिहरु संबेदनशील बनाउनकालागि एउटा छुट्टै कार्यक्रम ल्याउनुपर्ने आवश्यक छ । यसैगरी समाजदेखि बाहेक हाम्रो समुदायको क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता छ ।
लेखेको अधिकार प्राप्त गर्न र प्रयोग गर्न पनि क्षमता चाहिन्छ । देशको समृद्धिको लागि नागरिक सक्षम हुन जरुरी हुन्छ ।
यो समुदायमा राजनीतिक चेतना र पहुँच खासै छैन । २००१ देखि अहिलेसम्म हेर्दा सामाजिक प्रभाव परिवर्तनशील छ । यही समाजमा विभेद र लाल्छना गर्ने समुदाय पनि छन् र हामीलाई स्विकार्र गर्ने र साहानुभूति पूर्णरुपमा हेर्ने र सम्मान गर्ने मानिसहरु पनि छन् । विभेद र लाल्छनालाई चिर्नको लागि व्यक्ति आफू सक्षम हुन जरुरी छ ।
२००१ भन्दा अगाडि जतिबेला म ब्लूडाइमन सोसाइटीमा आउँदा न त सशक्त थिए र न त बलियो नै । मलाई त्यो बेला मानिसहरु छक्का हिजडा भन्दथे । छक्का हिजडा भन्ने शब्दले मलाई ठूलो समस्या र पिडा दिन्थ्यो । किनकी त्योबेला म कम्जोरी र आफैलाई बुझ्न सकेको थिइन । आत्मविश्वास पनि थिएन, अरुले गरेको टिका टिप्पणीले मनमा ठूलोचोट दिन्थ्यो । अहिले पनि मलाई देखेर छक्का हिजडा भन्ने समाज छ । तर, त्यो बेला र अहिले म धेरै परिवर्तन भएको छु । मलाई देखेर छक्का भन्ने मेरो समस्या होइन, त्यो नबुझ्नेहरुको हो । मैले अर्काको कारणले आफूलाई किन पीडा दिने, कसैले नबुझ्दैमा म किन आफूलाई कम्जोर ठान्ने भन्ने सोचाइ र बुझाई म भित्र छ , जसको कारणले गर्दा ति विभेद र लाल्छना मेरो लागि सामान्य भैसकेका छन् ।
तर,समाजको डरले लुकेर बसेको हाम्रो समुदायले अहिले पनि मेरो विगत जस्तै झेल्नु भएको छ, अब त्यो चिरेर कसरी अगाडि बढ्ने र समुहिक रुपमा परिवर्तन ल्याउने सबैभन्दा ठूलो चुनौतिको बिषय हो । त्यसमा व्याक्ति आफैले मानसिक र समुदायको रुपमा लड्ने तयारीका साथ आउनु जरुरी छ । यसको लागि राज्यले सकारात्मक वाताबरण बनाउनुपर्छ । यो लुकेको जनसंख्या हो । खुलेर आउन साथ समाजमा अनगिन्ति समस्यासँग जुध्न र समाना गर्नुपर्ने हुन्छ । समाजिक चुनौतिको सामाना गर्ने सामाथ्र्य र हैसियत निमार्ण गर्न नसक्दा समाजमा खुलेर आउन निकै गाह्रो कुरा हो ।
संस्था स्थापनादेखि समुदायको अधिकारको लागि संघर्ष गरिरहनुभएको छ । यहाँसम्म आइपुग्दा कस्ता कठिनाईहरु भोग्नु परेको थियो ?
यो संस्था स्थापना गरेको एचआईभि एड्सविरुद्धको अभियानलाई केन्द्रित गरेर हो । २००१ भन्दा अगाडि समुदाय सशक्त थिएन । हाम्रो समुदायलाई पनि आफ्नो लैंगिकता र यौनीकताको बारेमा स्पष्टता थिएन । विपरित इच्छा चाहाना, केटा भएर केटा मन पराउने वा केटीभएर केटी मन पराउने लहटमात्र थियो । त्यो समाजभित्र एकले अर्कोलाई चिनेर, आफ्ना मनका कुरा साटासाट गर्ने परिवेश बनेको थिएन ।
हामीहरु लुकेर बस्नुपर्ने बाध्यता थियो । त्यो परिवेशमा पनि ६÷७ जना मिलेर यो अभियान सुरु गर्यौँ । २००१ भन्दा अगाडि हामी र हाम्रो साथीहरुले समलिङ्गी यौन सम्बन्धमा अस्थायी साधनको प्रयोग गर्नुपर्छ र एचआईभी सर्छ भन्ने ज्ञान नै थिएन । ९९ प्रतिशतले असुरक्षित यौन सम्बन्ध राख्ने गर्दथे । त्यो बेला एचआईभिको सबैतिर महामारी फैलिएको थियो । यसलाई त्यतिबेला महामारी नै भनिन्थ्यो ।
अहिले जस्तो समान्य थिएन । यसलाई ठूलो रोगका रुपमा लिइन्थ्यो । अहिले उपचार गर्न सकिन्छ ।
अर्को कुरा समलिङ्गी वा तेस्रो लिङगी भनेर संस्था दर्ता गर्न पनि गाह्रो थियो । त्यो बेला पुरुष यौन प्रबर्दन कार्यक्रम भनेर दर्ता गरेका थियौँ । विस्तारै साथीहरु आफ्नो पहिचान खोज्न थाले । संगठित हँुदै आयौँ । आफ्नो समुदायको संस्था भएपछि साथीहरु आफै खुले आउनु थाल्नुभयो । सबैका मनका कुरा राख्ने ठाउँ बन्यो संस्था ।
साथीहरुबीच भेटघाट, कुराकानी हुन थाले त्यसपछि थाहा भयो, समुदायका मानिसले कति धेरै यातना,पीडा र अपहेलना सहनु परेको रहेछ । मानवअधिकार उलंघनका घटनाको लेखाजोखा गरेर साध्य थिएन । यो समुदायमाथि बिना कुनै कारण पुलिसले दिनहुँ कुटपिट गर्ने, हरेक दिन स्कुलबाट बहिस्कृत हुनुपर्ने,रोजगारको क्षेत्रमा अवसर नपाउने र हाउभाउकाकारण समाजबाट तिरस्कृत हुनु परेका मुद्धा सोचे भन्दा धेरै आए ।
निलहिराबाट समुदायले के कस्तो सहयोग पाउँछन् ?
हामीले समुदायलाई परामर्श दिने हो । समाजको मानोविज्ञान कस्तो छ त्यसलाई सकारात्मक रुपमा कसरी गाइड गर्ने, आफूमा समारात्मक सोचको विकास कसरी गर्ने भन्ने कुराको बारेमा परामर्श गर्ने गर्दछौँ । जसले समुदायमा आत्मविश्वास पैदा गर्दछ ।
हाम्रो समुदायको लागि आत्मविश्वास र शक्ति भनेको संगठन नै हो । बाहिरी समाजमा एक्सपोज नहोस् तर समुदायमा आएर आफ्नो कुरा राख्नपाउँदा आत्मबल पैदा गर्दछ ।
तेस्रो लिङ्गी काम गर्दैनन् भन्ने समाजमा नकारात्मक सोच अहिले पनि कायम छ,त्यसलाई हटाउनको लागि तपाईको संस्थाले केही गर्दै हुनुहुन्छ कि ?
संस्थाले क्षमता अभिबृद्धि र सिप मुलक तालिम दिँदै आएको छ । तालिमपछि अञ्जली लामा नेपालको टप मोडल हुनुहुन्छ । उहाँ नेपालमा मात्र होइन,विदेशमा पनि परिचित हुनु भएको छ ।
तेस्रो लिङ्गीले र्याम्प वाक गर्न थालेको निलहिरा समाजले आयोजना गरेको मिस पिंङबाटनै हो । अहिले अञ्जलि अन्तराष्ट्रि मोडल हुनु भो, उहाँलाई त्यो मुकाम हासिल गर्नुको निम्ति निलहिरा समाजले बोल्नदेखि हिड्ने कुरासम्मको तालिम गराएको थियो । अर्को सोफी सुनार केहीवर्ष अगाडि यहीँ संस्थामा कर्मचारीको रुपमा काम गर्नु हुन्थ्यो । अहिले उहाँको आफ्नै विजनेस छ । उहाँ नेपालको पहिलो तेस्रो लिङ्गी मेकम आर्टिस हो । उहाँलाई तालिम बेल्जिमको मेकअप आर्टिसबाट गराएको थियौँ । उहाँहरु पहिलो व्याज हो, त्यो व्याजमा १० जनाले व्यूटि पार्लर सम्बन्धि तालिम लिनु भएको थियो । यसैगरी कृषि, होटल व्यावसायि, र फेसन डिजाइनरको रुपमा धेरै साथीहरुले काम गरिरहनुभएको छ । यस्ता धेरै साथीहरु हुनुहुन्छ । संस्थाले आफ्नो जिवनलाई सबल र सक्षम बनाउनको लागि सहयोगी भूमिका खेलेको छ ।
समाजभित्र संघर्ष गर्नको लागि क्षमता र शिप अनिवार्य हो भन्ने चेतनाको विकास समुदायमा भएको छ ?
हो, अहिले त्यो चेतना सबैमा आएको छ । हामीले काम गर्नु पर्छ भन्ने सोचाइ समुदायमा विस्तारै आएको छ । र, काम गरेर स्थापित हुँदै जानुभएको छ ।
समुदाय थोरै र कमजोर भएका कारण एक—दुई जनाले कामजोरी गर्यो भने त्यो सबैलाई आक्षेप लगाउने काम गरिन्छ । जो कमजोर छ, उसलाई समाजले बढि हेप्छ । जसको मारमा हाम्रो समुदाय परेको हो । क्षमतावान साथीहरु छन् ।
पारिवारिक बहिस्करणमा परेकालाई काउन्सीलिड गरेर पुनः परिवारमै मिलन गराउने काम पनि गर्नु भएको छ ?
परिवारमा अहिले पनि कत्ति जना साथीहरु खुल्न चाहनु हुँदैन । काठमाडौँमा पनि कत्ति साथीहरु हुनुहुन्छ,जो संस्थामा खुल्नु हुन्छ तर परिवारलाई जानकारी छैन । यी साथीहरु संस्थामा आउँदा केटीको चाहाना हुन्छ र त्यो पोशाक लगाउनुहुन्छ भने घरमा जाँदा केटाकै पोशाकमा जाने गर्नुहुन्छ । हाम्रो बारेमा नबुझेका धेरै परिवार हुनुहुन्छ, उहाँहरुलाई हामीले आफै परामर्श गरेका छौँ भने कत्ति त आफै खोज्दै आउनु हुन्छ । आफ्नो सन्तान परिवारबाट अलग भएर गएपछि सोध्नको लागि पनि आउने गर्नुभएको छ । हाम्रो काउनसीलिङ पछि परिवारले घरमा आए हुन्थ्यो हामी स्वीकार गर्छौ भन्नु हुन्छ । परिवारमा स्वीकार गर्न सक्ने र नसक्ने एउटा पाटो छ भने परिवारमा मिल्न सक्ने र नसक्ने अर्को पाटो छ । समाजमा पहिला छोरा भएर हुर्केको छ, पछि छोरी भएर समाजमा जान गाह्रो मान्नेहरु पनि छन् । कतिपय परिवारले आफ्नो सन्तानको बारेमा बुझेपछि सन्तानको इच्छा चाहाना अनुसार लैंगिकता परिवर्तन गराईदिएका घटनाहरु कैयौँ छन् । यो हाम्रो ठूलो सफलता हो ।
प्रस्तुती : अस्मिता खड्का