‘अब दोश्रो र तेश्रो एल्बमको तयारीमा छु’ : सुरेश वाग्ले , गजलकार
प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार
तपाईको साहित्यीक यात्राको बारेमा बताईदिनुस्न ?
साहित्यीक क्षेत्रमा कलम चलाउन थालेको २० वर्षभयो । भर्खरै बजारमा आएको‘तिमी साथ भएपछि’ एल्बममा समाबेस गरिएका गजलहरु केही १२ वर्ष र केही १५ वर्षपहिला लेखिएको र म्युजिक कम्पोज भैसकेका हुन ।
कतिपय मानिसहरु मलाई अमेरिका गयो, पैसा कमाएर र गितकार बन्यो भन्ने बुझेका छन् तर,त्यो विल्कुलै होइन । यो मैले धेरै पहिलादेखि गरेको काम हो । यत्तिकै बसेको थियो ,अहिले बाहिर ल्याएको मात्र हो । २०५९÷०६० सालमा म काठमाडौँ बस्दा गजलगृह नेपाल संस्था मार्फत् गजलको क्षेत्रमा धेरै काम गरेको थिएँ । त्योबेला ‘पलाँस’ नामक गजल पत्रिका प्रकाशन गर्दथ्यौँ ।
पलाँस फुल मन्दिरमा चढ्दैन । प्रतिकात्मक रुपमा हेपिएको फुललाई हामीले रोजेका थियौँ । गजलगृह मार्फत् हरेक दुई महिनामा गायक गायीकाहरु बोलाएर सांगितिक कार्यक्रम पनि आयोजना गर्ने गर्दथ्यौँ । गजल लेखेर मात्र हुँदैन, यसलाई संगितसँग जोड्नुपर्छ भन्दै गजल सांगितक कार्यक्रम धेरै गर्यौँ । त्योबेला आनन्द कार्की, जगदिश हमाल, शिव परियार, अञ्जु पन्त र मनोज……ले हाम्रो कार्यक्रममा आएर गजल गाउनुहुँन्थ्यो ।
साहित्य क्षेत्रमा स्कुल पढ्दादेखिनै लगाब थियो । त्योबेला कबिताहरु लेख्ने गर्दथेँ भने अहिलेसम्म निरन्तर रुपमा गजललेखिरहेको छु । २०५४÷०५५ को कुरा हो । विरगंजबाट एसएलसी दिएपछि डाक्टर घनश्याम न्यौपानेसँग भेट भयो । त्योबेलादेखि कलम चलाउन थालेको हुँ । न्यौपाने सरले गजलमा अहिले पीएचडी गर्नुभएको छ । मैले निरन्तर गजल रचना गरेपनि किताब भने प्रकाशन गरेको छैन । त्योबेला मेरा रचनाहरु मधुपर्क, गोरखापत्र र कान्तिपुरमा पनि कहिले काहीँ प्रकाशन हुने गर्दथेँ । अमेरिका आएपछि पनि लेखनकार्यलाई निरन्तरता दिएको छु । तर, अरुले जसरी मैले बाहिर ल्याउने गरेको छैन् ।
पन्ध्रवर्ष पहिला लेखिएका गजल अहिले आएर एल्बमको रुपमा बाहिर ल्याउँनु भयो ? कारण केही थियो कि ?
मेरा हजारौँ रचनाहरु छन् ,तर म झट्ट प्रकाशनमा ल्याउँदैन । त्यसको लागि आफैभित्र पास भएर आउन धेरै गाह्रो हुन्छ । हरेक रचनाहरुलाई प्रकाशनमा ल्याउनुभन्दा पहिला धेरै सोच विचार गर्ने र छान्ने गर्दछु । यो मेरो पहिलेदेखिको स्वभाव हो । लामो समय साहित्य क्षेत्रमा काम गरेको हुनाले, गजलको किताब आएन भन्नै शुभचिन्तकहरु प्रश्न गर्नुहुन्छ । नेपाली गजल क्षेत्रमा धेरै गजलका किताबहरु प्रकाशन भैसकेका छन्, मेरो विचारमा एउटा अर्को गजलको किताब थप्नुभन्दा ढिलो भएपनि राम्रो र उत्कृष्ट आउनुपर्छ भन्ने मान्यता राख्दछु । जुन गजलले केही अर्थ राख्न सकोस् । न कि एल्बम निष्कियो भनेर आफै हेर्ने÷सुन्ने, आफै मख्ख पर्ने मात्र होइन ! समाजमा छाप छोड्न सकोस् भन्ने हो । जसकोकारण एल्बम बजारमा आउन ढिलाभयो ।
अहिलेसम्म कति गजल लेखिसक्नु भयो ?
लिपिबद्ध नभएका धेरै छन् तर, मलाई मन परेका र लेखिएका डेढसयभन्दा बढी नै होलान् ।
भर्खरै बजारमा आएको ‘तिमी साथ भएपछि’ कतियौँ एल्बम हो ? यसमा के कस्ता गजलहरु रहेका छन् ?
यो मेरो पहिलो एल्बम हो । हतारमा निकाल्नुभन्दा समय लगाएर राम्रो उत्पादन गरौँ भन्ने सोच हो । कति किताब र कति गीत बाहिर आएभन्दा पनि बाहिर आएका गीतले कति राम्रो प्रभाव पार्न सक्यो भन्ने मुख्य कुरा हो । म त्यही अनुसार काम गरेको छु ।
‘तिमी साथ भएपछि’को एल्बममा समाबेस सबै गजलहरु म, कलेज पढ्दा लेखेका हुन । यसमा तपाई माया प्रेमका कुरा पाउनुहुन्छ ।
यो एल्बममा को—को कलाकारको आवाज र कति वटा गजल सुन्नपाइन्छ ?
यसमा १० वटा गजल समाबेस गरिएको छ । एउटै गजल, महिला र पुरुषको स्वरमा छुट्टा छुट्टै रहेको छ । एउटा गजल दोहोरीएको हुनाले संख्यामा १० छ भने गजल ९ वटा भन्दा हुन्छ । शब्द एउटै भएपनि गाउने तरिका र धुन फरक पाउनुहुन्छ । तिमी साथ भएपछि भन्ने एल्बमको पहिलो गजल हो । यो अहिले यूट्युमा १० लाखभन्दा धेरै हेरिएको छ । यही गजललाई हामीले महिला र पुरुष दुबैको स्वरमा एल्बममा समाबेस गरेका छौँ । यो एल्बमा तपाई, उदय शोताङ,मानिला शोताङ, जगदिश हमाल,मनोजराज शिवाकोटी, अञ्जु पन्त, हरी लम्साल,शिव परियार,मदन गोपाल,कृष्ण श्रेष्ठ, टिका प्रसाई र नेपाल आइडलका बिजेता बुद्ध लामाको सुमधुर स्वरमा सुन्नपाउनु हुनेछ । साथै चारवटा गजलको भिडियो पनि तपाई हेर्न सक्नुहुन्छ ।
तपाई आफै गाउनु भएन ?
छैन,छैन । त्यता मैले सोचेकै छैन । हरेको आ—आफ्नो क्षमता र कला हुन्छ मेरो कला लेख्ने मात्र हो । कसै—कसैको राम्रो स्वर हुन्छ उहाँहरुले गाउनु भएको हुन्छ ।
साहित्य सृजनामा परिस्थिति र परिवेशले कत्तिको फरक पार्दोरहेछ ?
परिस्थिति र परिबेशले साहित्य सृजनामा अवश्य पनि फरक पार्दछ । जिवनको भोगाईबाट साहित्य सृजना हुने न हो ।
तपाईको रुची मात्र हो कि ? साहित्यलाई निरन्तरता दिने योजनामा हुनुहुन्छ ?
रुची मात्र हो भन्दै एउटा एल्बम निकालेर छोड्ने पटकै सोच छैन । नेपालमा गजलको क्षेत्रमा सकेको योगदान पुर्याउनुपर्छ भन्दै गजलगृह नेपाल, स्थापना गरेका थियौँ । त्योेबेला गजल भनेर आउँथ्यो तर, गित र गजलको फरक हुँदैनथ्यो । हामीले त्योबेला गीत र गजल फरक हो भन्ने कुरा स्थापित गरेका थियौँ । सुरु गर्दा केही सपनाहरु थिए, अहिले पनि जिवितनै छन् ।
अहिले म तीनवटा एल्बमको तयारी मै छु । पहिलो बजारमा आयो । दोस्रो र तेस्रो पनि तयारी मै छन् । केही समयको फरकमा मैले बजारमा ल्याउँदै छु । दोस्रो एल्बमको केही गीत रेकड् भैसकेका छन् । दोस्रोमा लोक, गजल र पप गितहरु सुन्न पाउनुहुनेछ भने तेस्रो गजल मात्र हुनेछ ।
रोयल्टीको कुराले नेपाली बजार तातेको छ । तपाई यसमा के भन्नुहुन्छ ?
रोयल्टी त पाउनुपर्छ । असलि सर्जक भनेको रचनाकार र संगितकार हुन । तर उनीहरुको नाम नै आउँदैन । कस्को गित भन्दा जसले गाएको हो,उसैको भन्ने गरिन्छ । गायकहरुले कन्सर्टहरुबाट पैसा पाउँछन् तर त्यहाँ रचनाकार र संगितकारलाई दिइँदैन । रोयलिटिको असलि हकदार भनेका रचनाकार र संगितकार हुन । नेपालमा यसको सुरुवात हुन थालेको छ । खुशी लागेको छ ।
साहित्य सृजना गर्ने काम कत्तिको सजिलो कुरा हो ?
सजिलो काम हो । आउँछ लेख्ने न हो । यसमा बल गरेर हुँदैन । यो दिमागमा कतिबेला फूर्छ भन्ने नै हुँदैन । काम गर्दा गर्दै, हिड्दा हिड्दै, खाँदा खाँदै आउँछ, हात चुठ्यो लेख्यो । तर ,अहिले फोन छ, दिमागमा क्लिक हुन बित्तिकै रेकर्ड गर्छु र पछि त्यसलाई मिलाउँछु । गजलको पहिलो दुई लाइन राम्रो फूर्यो भने बाँकी पछि बसेर पुरा गर्ने हुन्छ ।
बिदेशमा खासगरी नेपाली साहित्यीक क्षेत्रमा, सृजनामा भन्दा पनि आफ्नो नाम पत्रिकामा कसरी आउने भन्ने होडबाजी चलेको चर्चा बेलाबेला हुने गर्दछ नि ?
म त्यतापट्टि दौडिन । मेरो ध्यान सृजना गर्नु मै छ । हो, तपाईले भने जस्तो पछिल्लो समय बढेर गएको छ । दुईचार जना जम्मा हुने एउटा कोठामा कार्यक्रम गर्ने तर,समाचार चाहीँ ठूलो बनेर आउँछ । अर्कोकुरा,अमेरिकामा सामान्य लेख्ने मान्छे, नेपाल आयो भने वरिष्ठ साहित्यकार हुँदो रहेछन् । वरिष्ठ साहित्यकार भनेर आफै पैसा दिएर सम्मान थाप्ने पनि यहाँ आएपछि सुने । नेपालमा केही संघ संस्थाहरुले त्यस्ता मान्छेहरुबाट पैसा लिने वरिष्ठ साहित्यकारको बगरीगुथाउँदै खादा ओडाउने र समाचार छपाई दिने धन्दा चलाउने रहेछन् । पत्रिका र टिभिमा समाचार आएको रेट नै छुट्टा छुट्टै रहेछ, म त सुनेर दंग परेँ । यी संस्थाहरुको काम भनेको बाहिरबाट को को आउँछ भन्दै कुरेर बस्ने रहेछ । यो साहित्यीक क्षेत्रमा मौलाएको विकृति हो ।
साहित्य क्षेत्रमा मात्र सम्मिलित हुनुहुन्छ कि सामाजिक कार्यमा केही गर्दै हुनुहुन्छ ?
अमेरिकामा हामीले नेपाली संगित र नृत्यको स्कुल सञ्चालन गरेका छौँ । म त्यसको अध्यक्ष छु । अहिले त्यहाँ ५० भन्दा बढी विद्यार्थीहरु रहेका छन् । यसको मुख्य उदेश्य भनेको नेपाली संस्कार र संस्कृतिलाई जोगाई राख्नु र नेपाली भाषा सिकाउनु पनि हो । बच्चाहरुलाई नेपाली भाषाको निशुल्क कक्षा पनि सञ्चालन गरेका छौँ । नेपालमा सड्कमा पुर्याईएका महिला र सड्कमै बलात्कृत भएर जन्मिएका बालबच्चाको हेरचाह गर्ने संस्थालाई आर्थिक सहयोग गर्ने गरेको छु । सामाजिक कार्य र साहित्य क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामै रहेको छु ।