‘चीनले आफ्नो भूमि एक इन्च पनि छाड्दैन, शान्तिका लागि प्रतिबद्ध छाैँ’
प्रकाशित मिति : असार १६, २०७५ शनिबार
चीनका राष्ट्रपति सी जिनपिङले आफूहरु शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् । तर चीनले आफ्नो जमीनको एक इन्च पनि नछाड्ने पनि स्पष्ट पारेका छन् । अमेरिकी रक्षासचिव जेम्स माटिससँगको भेटपछि चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसुकै कदम चाल्ने जनाएका हुन् ।
ट्रेड वार र दक्षिण चीन सागरको भूमिलाई लिएर अमेरिकाले चीनमाथि विभिन्न टिकाटिप्पणी गरिरहेका बेला चीनका राष्ट्रपतिको यो भनाई बाहिर आएको हो । जेम्स माटिस सन् २०१४ पछि चीनको भ्रमण गर्ने पहिलो अमेरिकी रक्षासचिव समेत हुन् । उनले एसियाली देशको भ्रमण गरी सहयोगी देशसँग बैठक गरिरहेका छन् ।
माटिसले चिनियाँ राष्ट्रपतिसँगको कुराकानी धेरै राम्रो भएको प्रतिक्रिया दिएकाे छ । उनले अमेरिकाले चीनसँग सैन्य सम्बन्ध महत्वपूर्ण रुपमा अघि बढाउन काम गरिरहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति सीले चीन शान्तिका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्नो जमीनको रक्षाका लागि कसैसँग सम्झौता पनि नगर्ने स्पष्ट पारेका छन् ।