अनुमतिबिना क्यानडा भ्रमणमा हिँडेका उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काइएको हो : गृहमन्त्री थापा


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रध्यापक डाक्टर कुलप्रसाद कोइराला अनुमतिबिना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पार्नु भएको छ ।

गृहमन्त्री थापाले अनुमतिबिना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमण जान नदिइएको स्पष्टिकरण दिनु भएको हो ।

आइतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको थियो ।

त्यसपछि गृहमन्त्री थापाले त्यस सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराउनु भएको हो ।

शनिबार दिउँसो क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन क्यानडा जान लाग्नु भएका उपकूलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com